भैरहवा–‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’को उपाधि भैरव युवा क्लव रामग्राम, नवलपरासीले हात पारेको छ । सिद्धार्थनगर–१, पक्लिहवामा शनिवार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सम्पूर्ण युवा क्लब, सुपौली तिलोत्तमा, रुपन्देहीलाई २–१ गोलले पराजित गर्दै भैरव युवा क्लवले उपाधि हात पारेको हो
उपाधिसँगै भैरव क्लबले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । उपबिजेता बनेको सम्पूर्ण युवा क्लबले नगद ५० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पक्लिहवा माविको खेल मैदानमा सञ्चालित उक्त प्रतियोगिताको फाइनलमा खेल सुरु भएको ११ मिनेटमैं सम्पूर्णका खेलाडी सुगम ठकुरीले पहिलो गोल गरेका थिए । भैरवका गोलकिपरले गोलपोष्टतर्फ आउँदै गरेको बल रोक्न अगाडि बढेको बेलामा ठकुरीले प्रहार गरेको बल गोलमा परिणत भयो ।
निर्धारित ७० मिनेटको खेलमा मध्यान्तर पछिको ६ मिनेटमा भैरवका खेलाडी मनिष थारुले एक गोल गरेर खेललाई बराबरीको अवस्थामा ल्याए । त्यसपछि लामो समयसम्म दुवै टिमले गोल गर्न सकेनन् । भैरवले निकै आक्रमक खेल प्रस्तुत गरेको थियो । भैरवका खेलाडीले पटक(पटक प्रहार गरे पनि सम्पूर्णका गोलकिपरले निकै कौशलतापुर्वक गोल हुनबाट जोगाएका थिए ।
पटक पटक गोल हुनबाट जोगाएर सम्म्पूर्णका गोलकिपरको प्रशंसा दर्शक दीर्घाबाट भएको थियो । खेल बराबरीमा गएर यदि ट्राइब्रेकरमा गएमा सम्पूर्णको जीत हुने अनुमान धेरैको थियो । किनभने सम्पूर्ण टिम सेमीफाइनल र फाइनलमा आउँदा दुवै खेलमा ट्राइब्रेकरमा बिजयी बन्दै फाइनलमा आएको थियो । खेल सकिनु भन्दा ६ मिनेट अगाडि भैरवका खोलाडी बिज्ञान गुरुङले अर्को एक गोल थपेर टिमलाई बिजयी बनाउन सफल भए ।
श्री भैरव युवा क्लब सिद्धार्थनगर–१ नयाँगाउँ, रानीगाँउको आयोजनामा पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ यो प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल र छिमेकी राष्ट्र भारतमा समेत उत्कृष्ट खेल प्रदर्शन गर्दै फुटबलमा योगदान गरे बापत पूर्व खेलाडीहरू चेतन गुरुङ, अशोक गुरुङ्ग, किशन थापा, श्याम गुरुङ्ग, अशोक राना ९बाङ्ग० तथा बुद्धिराम नेपालीलाई आयोजक क्लवले सम्मान गरेको छ ।
म्यान अफ दि म्याच सम्पूर्णका सुगथम ठकुरी, बेष्ट स्ट्राइगर बिजेता टिमका मनिष थापा, वेष्ट डिफेन्डर बिजेता टिमका सुजित चौधरी, वेष्ट मिडफिल्डर बिजेता टिमका बिज्ञान गुरुङ, वेष्ट गोलकिपर सम्पूर्णका सरोज पुन, वेष्ट कोचमा सम्पूर्णका कृष्ण गुरुङ र् प्रतियोगिाता भरिका उत्कृष्ट खेलाडी सम्पूर्णका किरण पुन पुरष्कृत भएका थिए ।
बिजयी टिम तथा खेलाडीलाई अखिल नेपाल फुटवल संघका केन्द्रिय उपाध्यक्ष दीर्घबहादुर केसी, सिद्धार्थनगर नपा–१ का वडा अध्यक्ष उज्वल पोखरेल, २ का अध्यक्ष छेदीलाल श्रीबास्तव प्रतियोगितालाई प्रायोजन गरेका रुद्राक्ष मार्टका अमित गुप्ता लगायतले पुरष्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।