सुर्खेत । माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसका उमेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले आजलाई निर्धारण गरेको मनोनयन दर्ताको कार्यतालिका अनुसार एमालेका मिनासिंह रखाल र कांग्रेसका ललितजंग शाहीले प्रदेश निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
एमाले कांग्रेसबीचको भागवण्डामा महिला कलष्टरतर्फ एमालेका रखाल र अन्यतर्फ शाहीले मनोनयन दर्ता गराएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतारा शाहीले पनि मनोनयन दर्ता गर्न लागेका छन् । कर्णालीमा कांग्रेस–एमालेको बहुमत छ ।
जसमा कांग्रेसका १४ प्रदेश सांसद र ५९ पालिका प्रतिनिधि गरेर एक हजार ८६३ मतभार छ । तत्कालीन माओवादीको १३ प्रदेश सांसद तथा ४८ पालिका प्रतिनिधि गरेर एक हजार ६०१ मतभार र तत्कालीन एकीकृत समाजवादीको एक प्रदेश सांसदको ५३ मतभार र १० पालिका प्रतिनिधि गरेर २४३ गरी नेकपाको एक हजार ८४४ मतभार छ ।
यस्तै, एमालेको १० प्रदेश सांसद र ३५ पालिका प्रतिनिधि गरेर एक हजार १९५ मतभार छ । राप्रपाको एक प्रदेश सांसदको ५३ र स्वतन्त्रको एक प्रदेश सांसद तथा ६ पालिका गरेर १६७ मतभार छ ।
January 07, 2026