पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा लाग्ने मेला सकिएको छ । पाल्पाको सत्यवतीमा चिच्च्याएर बर माग्ने धार्मिक मेला लाग्ने गर्छ। सत्यवती बजैसँग चिच्च्याएर मागेको वरदान पुरा हुने भन्दै टाढाबाट भक्तजनहरू मन्दिरमा पुग्ने गरेका छन्। सत्यवती बजैसँग रातिमा मात्र चिच्च्याएर बरदान माग्ने प्रचलनलाई पछिल्लो समय दिउँसो पनि माग्ने गरिएको छ।
सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनहरूले तालको वरिपरि घुम्दै चिच्च्याएर वरदान माग्ने गर्दछन्। सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुरदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्च्याएर वरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचलन रहँदै आएको छ। तर केही वर्षदेखि हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म दिनरात मेला लाग्दै आएको छ। सत्यवती बज्यै धार्मिक मेलामा ३ लाखभन्दा भक्तजनहरू आएर चिच्च्याएर बर मागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाँहाले बताए।
कान कम सुन्ने बज्यै भएको र चिच्चाएर वर माग्दा पुग्ने जनविश्वास छ । त्यही जनविश्वासअनुसार नै श्रद्धालु मेला भर्न आएका थिए । दिउँसोमा भन्दा बढी भीड रातिमा लागेको थियो । सत्यवती ताल र माईको मन्दिरमा सबैले सुन्ने गरी चिच्याएर ‘वर’ मागिएको थियो । ताल र मन्दिरको वरपर तीन पटक घुमेर सार्वजनिक रूपमै चिच्चाएर ‘सत्यवती बज्यै’सँग वर माग्ने यहाँको पुरानो चलन हो । सत्यवती बज्यैदेवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर मागेका हुन् ।
यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले वर माग्दा बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किएलगत्तै सुनाउँदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको हाे ।
भक्तजनले मागेका कुराहरू सत्यवती बजैले पुरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हास, बोकाको बली दिने, त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ। सत्यवती मन्दिरमा चिच्च्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजन आउने गरेका छन्।
परापुर्व कालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ । यस वर्ष धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न आउनेहरुको निकै घुइँचो लागेको थियो ।