भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा देशका पश्चिम क्षेत्रका व्यवसायीहरूको प्रतिनिधित्व कमजोर रहेको भन्दै अबको नेतृत्वले यसलाई सम्बोधन गर्नुपर्ने प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए।
भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आठौ सभालाई स्वागत गर्दै प्रदेश अध्यक्ष शर्माले व्यवसायी प्रतिनिधिले नारायणी, बागमतीदेखि सुदूरपश्चिमसम्मको भूगोलबाट महासंघको पदाधिकारी तहमा अहिलेसम्म उपाध्यक्ष जस्तो गरिमामय पदमा पहिचान प्राप्त हुन नसकेकोमा अबको नेतृत्वले यसलाई सम्बोधन गर्नुपर्ने बताए ।
उनले सीमावर्ती क्षेत्रका व्यवसायीहरू अवैध व्यापारका कारण धराशायी बनेको र व्यवसायमा सन्तुष्टि प्राप्त गर्न नसकेको, पहाडी जिल्लाका उद्योग वाणिज्य संघहरूमा स्रोत र साधनको ठूलो अभाव रहेको, वर्तमान आर्थिक अवस्था र व्यावसायिक वातावरण सुधारका लागि पुराना ऐन तथा नीतिहरू परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउदै अबको नेतृत्वका लागि आफु दाबेदार रहेको बताए ।
६ वर्षको अनुभव र जिल्ला–जिल्लाका समस्याहरूसँग प्रत्यक्ष साक्षात्कार गरिसकेकाले अब आफूलाई महासंघको माथिल्लो नेतृत्वमा पु¥याउन उनले आग्रह गरे । लुम्बिनी प्रदेशको लम्हीमा भएको प्रदेश मेलाले आफूलाई नेतृत्वमा जान प्रस्ताव गरेको उल्लेख गर्दै उनले भने, ‘यदि तपाईंहरूले मलाई माथिल्लो तहमा जोडिदिनुभयो भने, मैले बुझेका र जानेका कर्महरू अवश्य गर्नेछु र महासंघको साखलाई अगाडि बढाउनेछु ’
महासंघका वर्तमान अध्यक्ष चन्द्र ढकालले संस्थाको प्रतिष्ठा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै अबको नेतृत्वले बाँकी रहेका भौगोलिक र सांगठनिक समस्याहरूलाई सम्बोधन गर्नुपर्नेमा उनले जोड दिदै हामी एक भएर मात्र नेपालको अर्थतन्त्रलाई दरिलो बनाउन सक्ने बताए ।