काठमाडौं । निर्वाचन आयोगले देशभर निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने भएको छ । आम नागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उक्त कार्यक्रम गर्न लागेको हो ।
आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाहरूमा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन हुने भएको हो ।
त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको वस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमवाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने आयोगले जनाएको छ ।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस कार्यमा सहयोग, समन्वय र सहजीकरणको लागि सातै प्रदेश सरकार, ७५३ स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालाहरूमा आयोग अनुरोध समेत गरेको छ ।