भैरहवा । भीम अस्पतालले न्युनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा ९५ अंक प्राप्त गरेको छ । सिमित जनशक्ति र पूर्वाधारका वावजुत बिरामीलाई प्रदान गर्ने गरेको उपचार सेवा र अस्पताल संचालनको व्यवस्थापन उत्कृष्ट रहेको छ । लुम्बिनी प्रदेशका जिल्ला अस्पतालहरु मध्ये स्वास्थ्य मापदण्डमा ९६ अंक सहित बर्दिया अस्पताल प्रथम र यो अस्पताल दोस्रो भएको हो ।
बिगत केही बर्षदेखि भीम अस्पतालले आफ्ना सेवालाई प्रभावकारी र सुधार गर्दै प्रदेश निर्देशनालयको यो मूल्यांकनमा बर्षेनि प्राप्तांक अंक बढाएको छ । सन २०२२ सालमा ८८ नम्बर पाएको अस्पतालले सेवालाई बढाउदै सूचकहरु वर्षेनी पार गर्दै २०२३ मा ९० अंक प्राप्त गरेको थियो । गत वर्ष ९४ अंक र अहिले १ अंक थप गर्दै ९५ अंक प्राप्त गरी अस्पतालको गुणस्तर सुधारमा उल्लेख्य प्रगती भएको छ । लुम्बिनी प्रदेश मातहत आएपछि अस्पतालले सेवा प्रवाह र शुसासनमा उल्लेख्य सुधार गरेको छ ।
न्युनतम मापदण्ड सेवा मूल्यांकनका संयोजक समेत रहेका कपिलवस्तु अस्पतालका प्रमुख तथा अनुगमन समितिका संयोजक डा. किशोर बन्जाडेले अस्पातल सेवा दिनका लागि कत्तिको तयार छ भनि पनि सूचकको आधारमा मापन गरिन्छ । सूचकका कुराहरु भएमा मात्रै सहज रुपमा सेवा दिन सकिने भएकोले नै प्रदेश सरकारले यो मापनको सुरुवात गरेको हो यो प्रत्येक वर्ष प्रत्येक अस्पतालको हुने गर्छ र भीम अस्पताले आफ्नो सेवा अब्बल बनाउदै प्रदेशकै दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।‘यसले अस्पताल कति सक्षम छ भन्ने पनि देखाउछ, सुचक अनुसार अझै पनि केही कमि कमजोरी छन त्यसलाई सुधार गर्दै सेवालाई अझ चुस्त बनाएर आगामी दिनमा अझै उत्कृष्ट बन्नुपर्छ ।
मूल्याकन टोलीले ९ सय ३९ वटा सुचकलाई आधार मानेर भीम अस्पतालको स्थलगत मूल्यांकन गर्दा सन् २०२५ मा यो ९५ अंक प्राप्त गरेको हो । संयोजक सहितको अनुगमन टोलीले स्थलगत अनुगमन पछि न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमको नतिजा सार्वजनिक गरेका डा. अच्युत न्यौपानेले भने । समितिले गरेको मूल्यांकनमा भीम अस्पतालमा सिटी स्क्यान, एनआईसीयू, नेत्रसेवा, छालारोग र नाका, कान, घाँटी सेवा न्युनतम सेवा मापदण्डले गरेको परिकल्पना भन्दा पनि माथि रहेर बिशेषज्ञ सेवा उपलब्ध गराएको छ । यस्तै केही सेवामा घटोत्तरी पनि भएकोले समग्रमा गत वर्ष भन्दा ८ अंक थपिए प्रतिशतमा १ प्रतिशत बढेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वर्षा थापाले पछिल्ला दिनमा अस्पतालमा बिशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुन थालेपछि उपचार सेवा थप प्रभावकारी हुँदै गएको बताइन । सिमित जनशक्तिका वीच अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नमा चुनौती पनि छ, अस्पतालमा अपुग जनशक्ति व्यवस्थापन गर्दै सेवालाई अझै प्रभावकारी बनाउदै लैजानु पर्ने बताइन ।
अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्तकुमार शर्माले सबैको प्रयासले यो सफलता हासिल गरिएको जनाए । अझै पनि थप सेवा दिनका लागि हामी लागीपरेका छौ, यस पछिका अस्पतालमा भएका विकासको तुलनामा भिम पछि परेपनि सबैको साथ भए यस्को विकास हुने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले स्थानीय सरकारले पनि अस्पतालको अपनत्व लिएर अगाडि बढेको छ , अस्पताल अहिले उत्कृष्टतातर्फ अघि बढीरहेको जनाए । धेरै राम्रो अभ्यास अहिले अस्पतालले गरेतापनि फोहोर मैला व्यवस्थापन, सरसफाई र हरियालीमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । स्थानीय बुझेको मेसु पाएकोले सबैले सहयोग र समन्वय गरी अझै विकासमा लाग्नु पर्ने बताए ।
अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारील भैरहवा क्षेत्रको सबै भन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैय्याको सूचिकृत रहेपनि १ सय ७ शैय्याबाट सेवा दिदै आएको बताए । अस्पतालको सेवाहरु विस्तार हुदै जादा स्वास्थय सेवा लिनेको संख्यामा स्वतः बढोत्तरी भएको छ ।