गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बन्न सकेन बैकल्पिक विमानस्थल, डाइभर्ट विमान अन्यत्र जादै

खबर नागरिक

भैरहवा । शनिबार काठमाण्डौ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या आएपछि काडमाण्डौ आउन लागेको कतार एयरवेजको विमान साझ घण्टौ आकाशमै चक्कर लगायो । दर्जनौ पटक आकाशमै चक्कर लगाएको विमान अन्तत बंगालदेशको ढाकामा डाइभर्ट भयो । 

फ्लाई दुबईको जहाज भारतको लखनउ र कोरियन एयरको जहाज दिल्ली डाइभर्ट भयो । यस्तै दिल्लीबाट काडमाण्डौको लागि उडान भरेको नेपाल वायु सेवा निगमको जहाज पनि केही बेर आकाशमै होल्ड हुन पुग्यो । 

करिब साढे ४ घण्टा विमानस्थलको एयरफिल्ड लाइटनिङ सिस्टम बिग्रिदा रातीको आन्तरिक उडान पनि प्रभावित भयो । नेपालमा नामको लागि ३ वटा अन्तराष्ट्रिय विमानस्थल भएपनि एक विमानस्थलमा समस्या आउदा विकल्पको रुपमा भैरहवा र पोखराको विमानस्थललाई प्रयोग नगरेपछि सबैको चासो बढेको छ । 

शनिबार बिहानै देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बत्ती (एयरफिल्ड लाइटनिङ सिस्टम) बिग्रिएपछि दिउसोको उडान निययमित भएपनि रातीको उडान अबरूद्ध भएको थियो । तर अवरुद्धको समयमा अन्यत्र विमानहरु डाइभर्ट गर्नुपर्नेमा केही विमान आकाशमै घुमिरहे भने केही अन्यत्र डाइभर्ट भए । विमानस्थल बन्द हुदा भैरहवा र पोखरा डाइभर्ट गर्न सकिने बैक्लपिक व्यवस्था पनि नगरी आकाशमै होल्ड गरियो र केही अन्यत्र डाइभर्ट हुनुको कारण यहाँ ती एयरलाइन्सको प्राविधिक र सेवा नहुुनु हो । चालकदलले आकस्मिक अवस्थामा नजिकको सूचिकृत पाए विमानस्थललाई विकल्पको रुपमा रोज्ने गरेका छन । 

दुई वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल हुँदासमेत पाइलटले उडान भर्नुअघि नै जहाज अवतरण गर्ने वैकल्पिक विमानस्थल खुलाउनु पर्छ । एयरलाइन्सले उडान अगाडि विकल्पमा नराख्दा ती विमानहरु नेपालका अन्य विमानस्थलमा अवतरण नगरेका हुन । नेपालमा हवाई इन्धन पनि महँगो हुने भएकाले जहाज अन्यत्र डाइभर्ट हुने गरेका छन । 

गौतमबुद्ध विमानस्थलका प्रवक्ता श्याम किशोरशाहले एयरलाइन्सले जुन सेक्टरमा उडान गर्छ, त्यता प्रविधिक टोली र कर्मचारीहरु राख्ने वा समझदारी गरेको हुन्छ । जहाज अवतरण गर्दा प्रविधिक र यात्रुलाई अन्य कठिनाई नहोस भन्ने सुनिश्चतता भएपछि मात्रै बैकल्पिक रुपमा जहाजहरु आउने गर्छन । तर भैरहवा र पोखरा विमानस्थलमा सबै मापदण्डहरु पुरा भएपनि एयरलाइन्सका प्राविधिकहरु सुनिश्चत नभएको र यहाँ उनीहरुको सम्बन्ध विस्तार नभएकोले पनि डाइभर्ट विमान नआएका बताए । 

ठूला जहाजलाई धेरै समयको उडान गर्दा सहज र कम खर्चिलो हुने भएकोले पनि नजिकको विमानस्थललाई विकल्पको रुपमा नरोजेको बताए । भैरहवा थाई एयर एसियाको उडान अहिले भइरहेको छ , यहाँ ग्राउण्ड हेण्डलिङको लागि प्रयाप्त टिम छ तर इन्जिनियरिङ टिम मर्मत सम्भारका लागि उपलब्ध नभएकोले पनि नआएका  प्रवक्ता शाहले भने । 

जहाँ धेरै उडान हुदैन त्यहा विमान कम्पनि लगानी गर्दैनन, काठमाण्डौमा विभिन्न कम्पनिको आफ्नै मर्मत सम्भार टोली छ र केहीले अरुसँग सम्झौता गरेकोले वायु सेवाहरुको प्राविधक काम समाधान गरिरहेको भएतापनि यहाँ त्यस्तो छैन । डाइभर्ट भएर बाहिर जानु भनेको यहाँ भन्दा बढि सेवा सुविधा रहेकोले बाध्य भएर जान्छन । इन्धन शुल्कले पनि कतिपय विमानहरु बाहिर जाने गरेकोले यो विमानस्थललाई विकल्पको रुपमा प्रयोग नगरेको प्रवक्ता शाहले भने । 

भैरहवाको हकमा एयर चाइनाले २–३ पटक डाइभर्ट गरेको छ । काठमाण्डौबाट सवा एक घण्टामा ढाका, एक घण्टामा लखनउ पुगिन्छ तर भैरहवा र पोखरा २० मिनेटमै जादा विमानमा असर पर्ने गर्छ । इन्धनको हकमा पनि भारतमा यहाँ भन्दा १ सय ५६ डलर र ढाकामा करिब २ डलर प्रति किलोलिटरले सस्तो भएकोले पनि नेपाल भन्दा बाहिर रोज्ने गरेका छन । 

त्रिभुवन विमानस्थलमा रनवेको बत्तीमा देखिएको समस्याका कारण इतिहासमा नै पहिलोपल्ट उडान अवरुद्ध भएको हो । पूर्णरूपमा सञ्चालनमा रहेको मुलुकको पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा आन्तरिक तथा बाह्य उडानसँगै हजारौं यात्रुहरू अलपत्र परेका थिए । विमानस्थल बन्द हुँदा भारत, बंगलादेशलगायत देशहरूमा डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडान पुनः काठमाडौं विमानस्थल फर्किएका छन् ।

हाल मुलुकभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल हुदा समेत दुई विमानस्थललाई विकल्पको रुपमा प्रयोग नगरी देखाउनका लागि मात्रै बनाएको जस्तो अनुभूत भएको सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । सरकारले सम्बन्धि विमान कम्पनिहरुसँग कुरा गरेर वैकल्पिक रुपमा पनि प्रयोग गर्न मिल्नका लागि कुटनितिक पहल गर्न जरुरी रहेको बताए । 

निजि क्षेत्रले के गर्नुपर्छ सहयोग गर्न तत्पर छौ सरकारले अगुवाई गरेर निरन्तर अन्तराष्ट्रिय उडानको लागि पहल गर्नु पर्ने बताए । नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले समेत यहाँबाट सुचारु गरे आर्थिक चलायमान हुने  राज्यको लगानी विस्तारै उठ्ने बताए । 

भैरहवा र पोखरामा रहेका विमानस्थल काठमाडौँ विमानस्थलको विकल्प बन्न नसक्दा भैरहवा वा पोखरामा अवतरण नभई भारत र अन्यत्र डाइभर्ट भएका हुन । काठमाडौँमा अवरोध यहीका अन्त्रत विमानस्थलमा रोक्न सक्नु पर्छ जसका लागि विदेशी हवाई कम्पनीलाई सर्त अघि सार्नुपर्ने देखिन्छ ।

निजि क्षेत्र र सरकारको पहलमा भैरहवा स्थित विमानस्थलमा नियमित अन्तराष्ट्रिय उडान गर्नका लागि बैदेशिक रोजगार व्यवसायीको उपस्थिती भैरहवामा विस्तार गर्नुपर्ने र अन्तराष्ट्रिय नेटवर्कमा पहुच बढि भएको ट्राभल एजेन्सीहरु आउनु पर्ने जरुरी देखिन्छ । 


प्रतिक्रिया