खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति तत्कालका लागि स्थगित

खबर नागरिक

मध्यपूर्वमा चुलिँदै गएको युद्धजन्य अवस्थाले नेपाली वैदेशिक रोजगारीमा प्रत्यक्ष असर पारेको छ। सरकारले खाडी मुलुकतर्फ जाने कामदारका लागि श्रम स्वीकृति दिने प्रक्रिया तत्कालका लागि रोकेको घोषणा गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय का अनुसार इजरायल, अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो। मन्त्री राजेन्द्रसिंह भण्डारी ले अवस्था सामान्य नहुँदासम्म श्रम स्वीकृति नदिने स्पष्ट पारे।

वैदेशिक रोजगार विभाग ले नियमित रूपमा विदेशिने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको भए पनि हालका लागि सम्पूर्ण प्रक्रिया रोकिएको छ।

हालै इजरायल र अमेरिकाले इरानमाथि मिसाइल आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि प्रतिकारात्मक आक्रमण सुरु गरेको छ। इरान ले युनाइटेड अरब इमिरेट्स, कतार, ओमान र कुवेत लगायतका देशमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गर्दै आक्रमण थालेको जनाइएको छ। यसले त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता बढाएको छ।

सरकारले अर्को सूचना जारी नभएसम्म श्रम स्वीकृति रोकिएको दोहो¥याउँदै विमानस्थलमा पुगिसकेका कामदारलाई समेत घर फर्किन आग्रह गरेको छ। ती देशहरूमा सुरक्षा सतर्कता कडा बनाइएकाले तत्काल यात्रा नगर्न अनुरोध गरिएको हो।

यसैबीच मन्त्रालयको कल सेन्टर २४ घण्टा सञ्चालनमा राखिएको छ। परिस्थितिको विकासअनुसार आवश्यक परे नेपालीहरूको उद्धारका लागि समेत योजना तयार पारिएको मन्त्री भण्डारीले जानकारी दिए। “घटनाक्रम कता मोडिन्छ भन्ने आधारमा आवश्यक निर्णय लिइनेछ,” उनले बताए।


प्रतिक्रिया