युरो किड्स भैरहवामा विन्टर कारनेभल

खबर नागरिक

भैरहवा । युरो किड्स भैरहवाले विद्यार्थीहरूमा नयाँ उर्जा थप्ने उद्देश्यका साथ हरेक वर्ष विन्टर कारनेभल आयोजना गर्दै आएको छ। विगत एक दशकदेखि निरन्तर हुँदै आएको यस कारनेभलले पढाइसँगै रमाइलो र सिर्जनात्मक गतिविधिमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयकी प्राचार्य प्रतिष्ठा चालिसेका अनुसार विद्यार्थीहरूलाई अध्ययनसँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कारनेभलको आयोजना गरिएको हो। उहाँले हरेक वर्ष फरक–फरक नयाँ थिममा कारनेभल आयोजना गर्दै आएको जानकारी दिनुभयो।

कारनेभलमा विभिन्न किसिमका खेल, स्टल, खाजा तथा मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएकोले बच्चाहरूका लागि कुनै कमी नहुने प्राचार्य चालिसेको भनाइ छ। यसले विद्यार्थीहरूसँगै अभिभावकहरूलाई पनि खुसी बनाएको उहाँले बताउनुभयो।

यसैगरी अभिभावक सुनिल सेन्चुरीले यस्ता कार्यक्रमहरूले बच्चाहरूमा नयाँ किसिमको सिर्जनशीलता विकास भइरहेको बताउनुभयो। विद्यालयको वातावरण र गतिविधि अत्यन्तै राम्रो रहेको उल्लेख गर्दै उहाँले विद्यालयप्रति आभार व्यक्त गर्नुभयो।

अर्की अभिभावक ज्योति अग्रवालले पनि कारनेभलमा आफ्ना बच्चाहरू रमाइरहेको देख्दा आफूलाई खुसी महसुस भएको बताउनुभयो।

युरो किड्स भैरहवाले आयोजना गर्दै आएको विन्टर कारनेभलले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पु¥याएको अभिभावकहरूको धारणा रहेको छ।


प्रतिक्रिया