भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा ३९ लाख ७० हजार रुपैयाँ बराबरका अबैध सामानहरू बरामद गरेका छन्।
कार्यालयका अनुसार कार्तिक १२ गते देखि १५ गतेसम्ममा भन्सार छली चोरी–पैठारी गरिएका कपडा, चुरोट, मिठाई, औषधि, सौन्दर्य सामग्री र दैनिक उपभोगका सामग्री बरामद गरिएको हो। बरामद गरिएका सबै सामान र सवारीसाधनहरू आवश्यक कारबाहीका लागि आइतबार भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले ओमसतिया–४ र रोहिणी–१ र २ क्षेत्रबाट बलेरो पिकअप, ई–रिक्सा, मोटरसाइकलसहित ट्रफि,मायाको चिनो ५४० पिस, चुरोट ४८८० प्याकेट, चुरोट ९८० प्याकेट, सूट रुमाल ६५५० पिस, मिठाई, किराना सामानहरू बरामद गरेको छ। यसको मूल्य करिब २५ लाख ८३ हजार बराबर रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बेलहिया ले सिद्धार्थनगर–१ बेलहिया बाईपास बाट दैनिक उपभोग्य सामान, महिला कपडा, कष्टमेटिक, आयुर्वेदिक औषधि सिफाफोर्ट र ट्रिपल स्टेमसेल गरी ४ लाख ४६ हजार बराबरका सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मझगवा बाट खटिएको टोलीले मायादेवी–६ दुर्गोलिया बाट मोटरसाइकलसहित कपडा र सुटिङका सामान ३ लाख ४६ हजार ९१० बराबर बरामद गरेको जनाएको छ।
इलाका प्रहरी कार्यालय धकधई ले रोहिणी–३ रामनगर बाट टाइ ४३५० पिस बरामद गरेको छ, जसको मूल्य रु। २ लाख ६१ हजार बराबर छ।
यस्तै, वडा प्रहरी कार्यालय भैरहवा ले सिद्धार्थनगर–६ र ८ बाट दुईवटा मोटरसाइकलसहित सुट, सारी र किराना सामान ३ लाख ३३ हजार १७० बराबर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार अवैध रुपमा भन्सार छली गरी सामान ल्याउनेहरूमाथि कानूनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी उपरिक्षकको रुपमा प्रदिप बहादुर क्षेत्रीको कमाण्ड रहेको छ । क्षेत्रीको आगमनसंगै रुपन्देहीमा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र ढुवानी गर्ने ब्यक्ति माथि कारवाही चलाउन थाले पछि रुपन्देहीबाट तस्करी धेरै हद सम्म नियन्त्रणमा आएको छ यदपी तस्करी भने राेकिएकाे छैन ।