लुम्बिनी प्रेस क्लब, रुपन्देहीकाे आयोजनामा ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिवल’ हुदैछ । यही पुस १२, १३ र १४ गते बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा हुने कार्यक्रममा पत्रकारिता, लुम्बिनीको प्रबद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रियकरण गरिनेछ ।
भैरहवा र आसपासमा क्रियाशील पत्रकारको एकताका लागि ‘देउसी भैलो’ खेल्ने निर्णय अनुरुप २०७२ साल कार्तिक २४ गते क्लब गठन भएको हो । यसरी स्थापना भएको क्लब जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर संस्थागत ढंगले काम गरिरहेको छ । क्लबमा भैरहवा र आसपास क्षेत्रमा रहेर मुलुकका विभिन्न संचार माध्याममा क्रियाशील संचारकर्मीको आबद्धता छ । क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना हुन् । उनले दुई कार्यकाल क्लबका नेतृत्व गरेका छन् ।
यसपछि दीपेश पछाई, नरेश केसी, सम्झना शर्माले क्लबको नेतृत्व गरिसकेका छन् । हाल कमल रायमाझीको नेतृत्वको समितिले अहिले समग्र प्रेस क्लबको नेतृत्वदायी भूमिका खेल्दै आएको छ । नेपालको प्रचलित कानून अनुसार तत् निकायमा दर्ता भई संचालित क्लबले विधानको प्रस्तावनामा स्पष्ट रुपमा उल्लेख गरेको छ– ‘नेपालमा विद्यमान पत्रकार आचारसंहिता र आमसञ्चारको सिद्धान्तको अधिनमा रही स्वतन्त्र पत्रकारिताको अभ्यास मार्फत् मुलुकको राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई मजबुत पार्दै शान्ति, समृद्धि र आपासी भाइचारा अभिवृद्धि गर्ने । यससँगै सामाजिक सद्भाव र सहअस्तित्वलाई कायम राख्न, स्वतन्त्र पत्रकारिताको मर्म र धर्मलाई मन, वचन र कर्मद्वारा अझ शसक्त रुपमा कार्यक्षेत्रमा रुपान्तरण गर्दै पत्रकारिताको पेशागत मर्यादालाई अझ उचाईमा पुर्याउने ।’
सकारात्मक चिन्तन र आलोचनात्मक समर्थनलाई बढावा दिँदै रेडियो, टेलिभिजन, अखबार र अनलाइन मिडियामा आवद्ध क्रियाशील पत्रकारको साझा हकहित र अधिकारका लागि एकताबद्ध भई विश्व शान्तिको मुहान लुम्बिनी र सो को आसपास कार्यक्षेत्र भएका पत्रकारलाई गोलबद्ध गर्दै सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र बिदेशी मित्रराष्ट्रका कुटनीतिक नियोगहरुसँग समेत समन्वय र सहकार्य गरि अधिकारमा आधारित दिगो बिकासमा टेवा पुर्याई नमूनारुपी सुन्दरसमाज निर्माणमा योगदान पुर्याउने उद्देश्यले लुम्बिनी प्रेस क्लब संस्था स्थापना भएको हो ।
मुलुकमा संविधान जारी भएर संघीयता कार्यान्वयन भएको लामो समय भइसकेको छ । संघ, प्रदेश र स्थानीय सरकार कार्यान्वयन भइसकेका छन् । यससँगै सिंहदरबारको अधिकार घरघरमा पुगेको छ । यसले काठमाडौंमा केन्द्रित साशन व्यवस्था विकेन्द्रिकृत भएको छ । यससँगै मुलुकमा रहेका संचारमाध्यामले आफूलाई संघीय स्वरुप प्रदान गरिरहेका छन् । तर पत्रकारिताको मूलधार अझै संघीय राजधानीमै केन्द्रित छ ।
‘पत्रकारितामा सफलताका लागि काठमाडौं जाने परम्परा छ । यसर्थमा हामीले २०७६ साल मंसिर १, २ र ३ गते प्रथम लुम्बिनी न्युज फेस्टिवल आयोजना गरेर कार्यक्रमको औचित्य स्थापित गरिसकेका छौं । मुलकको प्रतिकुल परिस्थिति, कोरोना महामारी लगायत कारण हामीले यसलाई वार्षिक रुपमा निरन्तरता दिन सकेनौं । त्यसपछि २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिवल गर्यौं । यसपटक लुम्बिनीमा भव्यरुपमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिवल’ आयोजना गर्न लागेका छौं’, क्लबका उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले भने ।
लुम्बिनी न्यूज फेस्टिवल कार्यक्रममा ‘मोफसल’ को समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सिर्जना गरिने जनाइएको छ । कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास समेत लिइएको अध्यक्ष रायमाझीले जनाए । ‘यससँगै यस क्षेत्रका आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक एवं व्यवसायिक मुद्दा, स्थानीय तह र प्रदेश सरकारको भूमिका, प्रभावकारिता र गर्नुपर्ने कामबारे राष्ट्रियरुपमा नै बहस सिर्जना हुनेछ’, उनले भने ।
तीन दिने कार्यक्रममा युवा तथा समावेशी सहभागितालाई ध्यान दिइएको छ । कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार संघ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगन्ज प्रेस क्लब, सिक्किम प्रेस क्लबबाट पत्रकारहरु सहभागिता जनाउने छन् । यस्तै, भारतीय राष्ट्रिय मिडियाका पत्रकारहरु समेत आउने छन् ।
नेपालबाट प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, मूलधारका छापा, मूलधारका टेलिभिजनका सम्पादक, मूलधारका अनलाइनका सम्पादक सहभागी हुनेछन् । यस्तै, लुम्बिनी प्रदेशबाट प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका सचिवहरु, प्रदेश पत्रकार महासंघ, प्रदेशका १२ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, चितवन, बर्दिया र पोखराबाट २–२ जना पर्यटन व्यवसायी तथा पत्रकारहरु, रुपन्देही, कपलिवस्तु र नवलपरासी ९ग्रेटर लुम्बिनी० क्षेत्रका पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी, लुम्बिनी बौद्ध विश्वविद्यालय, अधिकृत तहका कर्मचारी, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यार्थी र सर्वसाधरण सहभागी हुनेछन् ।
करिब ४० मिडियामाबाट प्रत्यक्ष प्रशारण हुने कार्यक्रममा करिब ४ सय सहभागी हुनेछन् । कार्यक्रम उद्घाटन सत्र पछि ‘सीमापार सम्बन्ध स् आवश्यकता र सम्भावनाना’, ‘लुम्बिनी स् लगानी र पर्यटनको सामथ्र्य’ र ‘पत्रकारितामा प्रश्न स् जिम्मेवारी र जवाफदेहिता’ विषयमा प्यानल डिस्कर्सन हुनेछ । यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्वन्धलाई अझै मजबुत पार्ने आयोजकको भनाई छ । प्यानल छलपलमा नेपाल–भारतका चर्चित पत्रकारहरु सहभागी हुनेछन् ।