रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण,आज मनोनयन

खबर नागरिक

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ । जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा आज बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो । 


जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका पाँचवटै निर्वाचन अधिकृतको कार्यालयमा आज आयोजना गरिएका सर्वपक्षीय बैठकले राजनीतिक दल र उम्मेदवारको मनोनयन दर्ताका लागि अलगअलग समय तोकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताको समय तोकिएको छ । निर्धारित समयभित्र सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने स्वतन्त्र वा कुनै पनि राजनीतिक दलका उम्मेदवारको रितपूर्वक आएको उम्मेदवारी दर्ता गरिने जिल्लाम निर्वाचन कार्यालयले जनाएको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचन आयोगले जारी गरेको आचार संहिता कडाइका साथ लागु गर्ने र मनोनयन दाखिलाको समय तालिका लिई सहज र सौहार्द तरिकाले दर्ता गर्ने सहमति अनुसार दर्ता हुने बताए । उनले निर्वाचन आचारसंहिता पालना गर्न र उल्लंघन हुन नदिन कडाई गर्नुपर्नेमा जोड दिए । यो राजनैतिक दलहरुको उत्सव रहेकोले यसलाई उत्सवकै रुपमा लिईे दलहरुकै सहमतीमा बनेको आचारसंहिता कार्यान्वयन गर्नु पर्छ ।

हामीले निर्वाचन आचारसंहिता कार्यान्वयनलाई कडाई गर्छौं, यसका लागि सबैको साथ सहयोग जरुरी हुने बताए । कानूनले आचारसंहिता उल्लंघन गरे कारबाही गर्ने निर्दिष्ट अधिकार दिएको जनाउँदैं त्यो अवस्था आउन नदिनु सबैलाई अवगत गराए । निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित तरिकाले सम्पन्न गर्न सबैको सहयोग र सहकार्य जरुरी रहेको प्रमुख निर्वाचन अधिकृत बस्नेतको भनाई छ ।

स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयले निष्पक्ष ढंगबाट भुमिका निर्वाह गरी दल तथा उमेद्वारहरुले अनुशासित र आचार संहिता पालना गरेर पर्व मनउनु पर्छ । आचारसंहिता पालना गरि स्वास्च्छ र निस्पक्ष ढंगबाट निर्बाचनमा सहभागि भए निर्वाचन सफल हुनेछ । 

निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।

उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ । त्यस्तै, गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । साथै वैयक्तिक विवरण फाराम भरी सम्पत्ति विवरण पनि उपलब्ध गराउनुपर्नेछ ।

प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारले १० हजार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर पनि आवश्यक पर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा यो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

आयोगले यसअघि समानुपातिक तर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकमा १ सय १० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १ सय ६५ निर्वाचित हुने व्यवस्था छ । 

यसैबिच आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ ।

भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । चुनाव सुरक्षाका लागि प्रहरी छनोटको प्रक्रिया शुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।  

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता हुने निर्वाचन कार्यक्रम छ । यस्तै  माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तालिका छ ।


प्रतिक्रिया