भैरहवा । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रूपन्देहीको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर “लोकतन्त्र र भावी कार्यदिशा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। संगठनका जिल्ला अध्यक्ष प्रा. सुदर्शन प्रसाद नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी प्रमुख अतिथिका रूपमा थिए।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले वर्तमान राजनीतिक परिवेशप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै “धनतन्त्रले लोकतन्त्रलाई विस्थापित गरिसकेको” आरोप लगाएका छन । । उनले अहिले लोकतन्त्रको स्थानमा धनतन्त्र हाबी भएको दाबी गर्दै राजनीतिक दलहरूमा टिकट वितरण प्रक्रिया नै व्यापारजस्तै भएको टिप्पणी गरेक।
“पहिले सिनेमाको टिकट ब्ल्याकमा बेचिन्थ्यो, अहिले पार्टीको टिकट ब्ल्याकमा बिक्री भइरहेको छ ।
त्रिपाठीले नेपाली लोकतन्त्रलाई लोकतन्त्रवादीबाटै जोगाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै ठूला आदर्शका कुरा गर्नेहरू नै व्यवहारमा टिकटको व्यापारमा संलग्न हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे। “हामीलाई विवेक भएको, जनतासँग प्रत्यक्ष संवाद गर्न सक्ने र जनताकै माझबाट उठेको नेतृत्व चाहिएको छ,” उनले बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले पनि दलहरूको घोषणा पत्र व्यवहारमा कार्यान्वयन हुन नसकेको गुनासो गरे। फरक–फरक किसिमका घोषणा पत्र सार्वजनिक गरिए पनि ती कागजमै सीमित हुने गरेको टिप्पणी गरेका छन्।
अर्का वक्ताले राजनीतिक बहसमा आर्थिक एजेण्डा ओझेलमा पर्ने गरेको बताउँदै यसलाई दुर्भाग्यपूर्ण अवस्था भएको बताए । “राजनीतिबारे धेरै कुरा हुन्छ, तर आर्थिक मुद्दामा गम्भीर बहस हुँदैन,” उनले भने।
कार्यक्रमको मुख्य उद्देश्य लोकतन्त्रको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्यदिशाबारे व्यापक छलफल गर्नु रहेको थियो। सहभागीहरूले लोकतन्त्रलाई संस्थागत रूपमा सुदृढ बनाउँदै विधिको शासन, उत्तरदायित्व र नागरिक चेतनामा आधारित राजनीतिक संस्कृतिको विकास अपरिहार्य रहेको निष्कर्ष निकालेका थिए।
कार्यक्रममा हिरा चन्द, कुलप्रसाद न्यौपाने, राप्ती चन्द्र उपाध्याय लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।