ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदारकाे मृत्यु

खबर नागरिक

काेटहीमाई देवनबक्सापुरका ट्राफिक प्रहरी हवलदार नागेश्वर पालको बुटवल धागो कारखाना स्थित सडकमा सवारी चेकजाच गरिरहेको अवस्थामा कारको ठक्करबाट मृत्यु भएको छ ।


सोमबार दिउसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखाना अगाडी पूर्वबाट बुटवलतर्फ आइरहेको कारले सडकमा चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पाललाई ठक्कर दिएको थियो।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार सडकमा ड्युटीमा खटिएका अस्थायी ट्राफिक प्रहरी पोस्ट रामनगरमा कार्यरत पाललाई बागमती प्रदेश १–००३ च ००७७ नं. कारले दिउसो सवा चार बजेतिर ठक्कर दिएको थियो।


कारको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले ४ बजेर ३८ मिनेटमा मृत घोषित गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।


प्रहरीले पाललाई ठक्कर दिने कार र चालक गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १ बस्ने ५६ वर्षीय जितेन्द्र थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको जनाएको छ।

प्रतिक्रिया