रुपन्देही ।आँखा जाँचपछि अनुहारमा मुस्कान लिएर विद्यार्थी सुस्मिता कहारले भनिन्, “आँखा चेकअप गराउँदा धेरै खुसी लाग्यो । डाक्टरले पानी धेरै पिउनु र आँखाको राम्रो हेरचाह गर्न भन्नुभएको छ।” विद्यालयमै आँखा परीक्षणको सुविधा पाउँदा आफूजस्ता विद्यार्थीलाई ठूलो सहयोग पुगेको उनको भनाइ छ।
लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको संयुक्त आयोजनामा शुक्रबार सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री विन्ध्यावासिनी मिशुजु आधारभूत विद्यालयमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय गरी ९५ जनाको आँखा परीक्षण गरिएको थियो।
परीक्षणका क्रममा ४४ जनालाई आवश्यक औषधि प्रदान गरिएको छ भने ७ जनालाई निःशुल्क चश्मा वितरण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्यले जानकारी दिनुभयो।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष सरिता आचार्यले विद्यालयस्तरमै आँखा परीक्षण कार्यक्रम गर्दा विद्यार्थी तथा अभिभावकलाई ठूलो राहत मिलेको बताउनुभयो। उहाँले भविष्यमा पनि स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले सामाजिक सेवामा लायन्स क्लबको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक चर्तुभुज रेग्मीले लायन्स क्लबले विद्यालयमा नियमित रूपमा सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको उल्लेख गर्नुभयो। ती कार्यक्रमबाट विद्यालय प्रत्यक्ष लाभान्वित भएको र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो।
कार्यक्रम लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष धर्मराज आचार्य तथा लायन्स क्लब अफ सिद्धार्थनगर लोटसकी अध्यक्ष सरिता आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि मीना पन्थी रहनुभएको थियो भने कार्यक्रम संयोजक टीकाराम भट्टराईको स्वागत मन्तव्य र लायन्स सिद्धार्थनगर लोटसकी सचिव शान्ता योगी रोक्काको सञ्चालन रहेको थियो।
श्रीकृष्ण नेत्रालय प्रा.लि., भैरहवाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक सुनैना के.सी.ले जानकारी दिनुभयो।