भैरहवा ।
लामो समयदेखि भाडा महँगो, कडा कानुन र आधारभूत सेवा अभावका कारण सुस्त बनेको भैरहवा विशेष आर्थिक क्षेत्रमा (सेज) सरकारले भाडादर घटाएपछि उद्योगी उत्साहीत भएको छ। मंसिर ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भाडा प्रतिवर्गमिटर २० रुपैयाँबाट ५ रुपैयाँमा झारिदिएपछि उद्योगी–व्यवसायीहरु उत्साहित बनेका छन्।
५२ बिगाहामा फैलिएको सेजका ६८ वटै प्लट भाडामा लगाइएको छ । तीमध्ये ५२ उद्योग सञ्चालनमा छन् भने १६ उद्योग निर्माणाधीन अवस्थामा छन्।
सेज कार्यालय प्रमुख इन्जिनियर सबुत डुम्रे अनुसार शक्ति मिनरल्स, तिरुपति मेटल, हिमालय ग्रानाइट, इको नेपाल इनर्जी, सिपी मेटललगायत उद्योग चलिरहेका छन् भने सुपर इलेक्ट्रिक, गार्मेन्ट गियर, ओबिटी नेपाललगायतका उद्योग निर्माण भइरहेका छन्।
सरकारको अध्यादेशपछि निर्यातसम्बन्धी कानुन पनि लचक बनाइएको छ। पहिले अनिवार्य ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान बदल्दै पहिलो चार वर्ष १५ प्रतिशत मात्र राखिएको छ भने त्यसपछि न्यूनतम सीमा ३० प्रतिशत कायम गरिएको छ। आन्तरिक बजारमा बिक्री गर्न पाइने समय पनि १ वर्षबाट ३ वर्ष पु¥याइएको छ। यसले उद्योग स्थापना तथा बजार विस्तारमा सहजता दिएको उद्योगीहरूको भनाइ छ।
यद्यपि, एकद्वार प्रणाली प्रभावकारी नहुनु, खानेपानी, बिजुली र सरसफाइ जस्ता आधारभूत सेवामा समस्या रहिरहनु उद्योगीको गुनासो कायम छ।
पछिल्ला वर्षमा सेजको कारोबार लगातार बढ्दै आएको छ। २०७६÷७७ मा २० करोड ४४ लाख रहेको कारोबार २०८१÷८२ मा १ अर्ब ८८ करोड ६६ लाखमा पुगेको छ। चालु वर्षको असोज मसान्तसम्म ४६ करोड रुपैयाँको कारोबार भइसकेको छ।
भाडा घट्ने र कानुनी लचकता आउनेसँगै भैरहवा सेज पुनः सक्रिय बन्दै गएको छ। आधारभूत संरचना सुदृढ भएमा सेज निर्यात वृद्धि गर्ने महत्वपूर्ण केन्द्र बन्न सक्ने उनीहरूको विश्वास छ।