माघ २ । निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरीमा आवेदन दिनेको संख्या उल्लेख्य देखिएको छ । नेपाल प्रहरीले बिहीबारसम्म कुल १ लाख ७२ हजार ८७७ जनाबाट आवेदन प्राप्त गरेको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार तोकिएको अन्तिम मितिसम्म उक्त संख्यामा आवेदन दर्ता भएको हो । देशभरका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी आवश्यक परे पनि अपेक्षाभन्दा बढीले आवेदन दिएका छन् ।
यद्यपि, ३६ वटा जिल्लामा भने मागअनुसार आवेदन नपरेको डीआईजी काफ्लेले जानकारी दिए । ती जिल्लामा पुनः दुई दिनको समय थप गरी आवेदन आह्वान गरिएको छ ।
आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले २४ पुसदेखि म्यादी प्रहरीका लागि आवेदन खुला गरेको थियो । बिहीबार आवेदन दिने अन्तिम दिन तोकिएको थियो ।
यसैबीच, सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षाका लागि छुट्टै रूपमा भर्ना प्रक्रिया अघि बढाउँदै हाल आवेदन संकलन गरिरहेको छ ।
म्यादी प्रहरी छनोट गर्दा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, तथा पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्ना प्रक्रियामा सहभागी भई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ ।
त्यसैगरी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा कार्य गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति तथा विदेशी सुरक्षा निकायमा सेवा गरी अवकाश प्राप्त नेपाली नागरिकहरू पनि प्राथमिकतामा पर्ने बताइएको छ ।