‘प्रगतिशील अभियान’द्वारा जनार्दन शर्मा नेतृत्वको नयाँ समाजवादी

खबर नागरिक

काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। उनले उक्त अभियानमार्फत ’तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले नेपालमा विगत आठ दशकदेखि चलेका जनआन्दोलन, जनयुद्ध र हालैको जेनजी विद्रोहका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजवादी एकता र श्रमजीवी जनताको हितमा समर्पित नयाँ आन्दोलनको खाका प्रस्तुत गरे ।

शर्माले भने, ’विद्रोह जायज छ, विद्रोह अधिकार हो। आजको आवश्यकता समाजवादी ऐक्यबद्धता हो।’ उनका अनुसार यो अभियान कुनै नयाँ पार्टी होइन, तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास हो।

अभियानले जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख छ। शर्माले माओवादी शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक घुम्ती भने पनि त्यसपछि दलाल पुँजीवादको संसदीय प्रणालीमा भासिँदा आन्दोलनको आत्मा कमजोर भएको बताएका छन्।

विज्ञप्तिमा लेखिएको छ, ’हाम्रो नेतृत्वले नीतिहीनतालाई नै नीति बनायो। क्रान्तिकारी आदर्श र जीवन मूल्यहरू क्षय हुँदै गए। अब नयाँ पुस्तालाई वैचारिक शस्त्र र शास्त्रसहित सुसज्जित गर्दै नयाँ समाजवादी आन्दोलन निर्माण गर्नुपर्छ।’

शर्माले नेपालका मजदुर, किसान, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याएका छन्। उनका अनुसार हालका मुख्य दलहरू जनताको दृष्टिमा विश्वास गुमाइसकेका छन् र नयाँ पुस्ताले इतिहासको भार वहन गर्न तयार हुनुपर्छ।

अभियानले नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको छ। शर्माले विश्व पुँजीवादका सिक्रीहरू तोड्दै “नेपाली विशेषतायुक्त समाजवाद” निर्माणमा जोड दिएका छन्।

शर्माले सबै वाम, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आह्वान समेत गरेका छन्। ’यो देशलाई निराशाबाट आशातर्फ लैजान, समानता र स्वाधीनताको मार्गमा अघि बढाउन, नयाँ पुस्ताको हातमा भविष्य सुम्पनु हाम्रो साझा जिम्मेवारी हो’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया