भैरहवा, कार्तिक १८। रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको प्रवेशद्वार अगाडि गएराति गोली प्रहार भएको छ।
घटनामा होटलमा कार्यरत सुरक्षा गार्ड मीनबहादुर परियार घाइते भएका छन्।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार घटना राति करिब १ बजे भएको हो।
गोली लाग्दा बुटवल उपमहानगरपालिका–१५ निवासी २७ वर्षीय मीनबहादुरलाई सामान्य चोट लागेको र भीम अस्पताल, भैरहवामा उपचारपछि डिस्चार्ज गरिएको छ।
डीएसपी कार्कीले प्रारम्भिक विवरणअनुसार परियारको स्वास्थ्य अवस्था स्थिर रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो।
प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी गोली कसले चलायो भन्नेबारे अनुसन्धान अघि बढाएको बताइएको छ।
November 04, 2025