उद्योगी–व्यवसायीलाई भरोसा दिलाउँदै अर्थमन्त्री खनाल : “अब सहजीकरणमै सरकार”

खबर नागरिक

भैरहवा । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उद्योगी–व्यवसायीसँगको प्रत्यक्ष संवादमा सरकार अब डर, धरपकड र अनावश्यक प्रशासनिक दबाबबाट टाढा रहेर सहजीकरण र भरोसा निर्माणमा केन्द्रित हुने स्पष्ट संकेत दिएका छन्। व्यवसाय सञ्चालनका सामान्य त्रुटिलाई आधार बनाएर उद्योग बन्द गर्ने पुरानो अभ्यास अन्त्यतिर गएको उनले बताए। 

कार्यक्रममा मन्त्री खनालले लुम्बिनी प्रदेशबाट ढुंगा–गिटीको व्यवस्थित उत्खननका आधारमा सहज निर्यात सम्भव रहेको उल्लेख गर्दै, यसबारे सकारात्मक भूमिका खेल्न तयार रहेको जानकारी दिए। 

अर्थमन्त्रीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाई प्राथमिकता दिँदै बाँकी कार्यकालमा यसलाई पूर्ण क्षमतामा ल्याउने योजना सार्वजनिक गरे। यसले उद्योग र पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने उनको तर्क थियो।

कार्यक्रममा उद्योगीले भारतीय बजारबाट बिना भन्सार ल्याइने सामान, मल तस्करी, नक्कली बिल–बीजक र उच्च बैंकिङ शुल्क जस्ता समस्याबारे गुनासो राखे। महिला उद्यमीले अझै उद्योग सञ्चालनमा असमानता भोग्नुपरेको बताए। उनीहरूले सेज भाडा घटाउने निर्णयको स्वागत गर्दै निर्यातमा कागजी झन्झट कम गर्न माग गरे।

खनालले उद्योगी–व्यवसायीका समस्या प्राथमिकताका साथ अघि बढाइने प्रतिवद्धता व्यक्त गर्दै, संघीय र प्रदेश सरकारबीच प्रभावकारी समन्वय भए भैरहवा–लुम्बिनी क्षेत्र देशकै सक्रिय औद्योगिक केन्द्र बन्न सक्ने बताए। उनले उद्योगमैत्री वातावरण निर्माण गर्दै आर्थिक सुधारलाई सरकारको उच्च प्राथमिकतामा राख्ने वचन दोहोर्याए।

प्रतिक्रिया