पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो कालखण्डमा विभिन्न विकल्पहरूको प्रयोग भए पनि देश प्रयोगशाला मात्र बनेको जिकिर गरेका छन । नयाँ वर्ष २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै शाहले विगतका कमी-कमजोरी र त्रुटिलाई सच्याउँदै उच्चतम गन्तव्यतर्फ लम्किनुपर्ने उल्लेख गरे ।
श्री ५ बडा महाराजधिराजकै नामबाट जारी गरेको शुभकामना सन्देशमा उनले देश झन(झन् तलतिर गएको उल्लेख गरेका छन् ।
यस्तो छ पूर्ण पाठ
प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्षारम्भको यो परिवर्तनको पुनीत अवसरमा, देश भित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमय शुभकामना ।
समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्दछ । तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ ।
विगतका कतिपय वर्ष वाञ्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्यौं, तर त्यो कोरा परिवर्तन मात्र भयो । दलदलको खलबलमा त हामी धेरै दगुर्यौं तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडि पर्यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्र हामी लाग्यौं । फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।
स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पुस्ताको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ ।
आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ । यो बेला नेपाली जनताको आशा, अभिलाषा पनि उत्तिकै छन् । यो स्थितिमा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जिउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अङ्ग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने पीडा, प्रकोप विषयमा हाम्रो आन्तरिक सुरक्षालाई चुस्त, दुरुस्त बनाउनु आवश्यक देखिन्छ ।
आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पुग्नुपर्ने देखिन्छ ।
आम नागरिकले कुनै प्रकारको शारीरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर, परनिर्भरताबाट र स्वाधीन भएर पराधीनताबाट देशलाई जोगाउनु छ । देशको स्रोत शक्ति हो । सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्द्धन भयो भने नै देशको गौरव बढ्दछ ।
त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ । निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढसंकल्पित बनौं ।
नेपाल शान्तिको भूमि बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय, शान्ति र सुख पाऊन्, यही हाम्रो सदिच्छा हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल