भैरहवा । डिभिजन वन कार्यालय रुपन्देहीले पछिल्लो वर्ष वन्यजन्तु संरक्षण र जैविक विविधताको संवद्र्धनमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। वन्यजन्तु उद्दार, अवैध सिकार नियन्त्रण, आधुनिक प्रविधिमार्फत निगरानी तथा स्थानीय समुदायसँगको सहकार्यका कारण रुपन्देही वन क्षेत्र पछिल्लो समयमा थप सुरक्षित र व्यवस्थित बन्दै गएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा अजिङ्गर २४, सर्प १०, निलगाई ७ र अन्य ६ गरी ४७ वन्यजन्तु उद्दार गरिएको थियो। यसैगरी चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म १७ वटा वन्यजन्तु उद्दार गरिएको छ। विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा भेटिएका वन्यजन्तुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, उपचार आवश्यक परे उपचार व्यवस्था मिलाउने तथा पुनः प्राकृतिक बासस्थानमा फर्काउने कार्यलाई कार्यालयले प्राथमिकताका साथ अघि बढाएको छ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रविन बिडारीले वन्यजन्तु संरक्षण र उद्दार कार्यलाई अझ व्यवस्थित र द्रुत बनाउन कार्यालय निरन्तर सक्रिय रहेको बताए।
उनका अनुसार, “उद्दार कार्यदेखि निगरानी प्रणालीसम्म सबै प्रक्रिया व्यवस्थित बनाउँदै लैजाने हाम्रो प्राथमिकता हो। चुनौती धेरै आए पनि समुदाय, सुरक्षा निकाय र कर्मचारीहरूको समर्पणका कारण संरक्षणको परिणाम निकै सकारात्मक देखिएको छ।”
उद्दार कार्यमा प्रत्यक्ष रूपमा खटिने सशस्त्र वन रक्षक राम निवास चौधरीले आफ्नो टोली विभिन्न जोखिमका बीच पनि निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएको बताए।
उनले भने, “हामीले वर्षभरि विभिन्न प्रजातिका वन्यजन्तु उद्दार गर्दै आएका छौँ। कतिपय उद्दारमा विषालु जनावरसँग सामना गर्नुपर्छ, कहिले रातिको समयमा दुरदराज क्षेत्र पुग्नुपर्छ। तर जे–जस्ता चुनौती आए पनि हामी हाम्रो काममा अघि बढ्छौँ।”
यस्तै, कार्यलयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी सुजन रिमालले वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोग अत्यन्त प्रभावकारी भएको उल्लेख गरे।
उनका अनुसार, नियमित अनुगमनले दुर्लभ प्रजातिका जनावरको अवस्थाबारे समयमै तथ्य प्राप्त गर्न सहयोग गरेको छ। स्थानीय समुदाय, विद्यार्थी र विभिन्न निकायको सहकार्यले संरक्षण अभियानलाई थप मजबुत बनाएको छ।”
कार्यालयले अवैध सिकार तथा वन्यजन्तु तस्करी नियन्त्रणका लागि नियमित रात्री–दिवा गस्ती, सिस्ट्रोल (साप्ताहिक सुरक्षा गस्ती), सामुदायिक वन उपभोक्ता समूहहरूसँग समन्वय गरी संयुक्त अभियान सञ्चालन गर्दै आएको छ। यसले पछिल्लो समयमा अवैध गतिविधिमा उल्लेखनीय कमी ल्याएको कार्यालयको दाबी छ।
यसबाहेक, कार्यालयले विद्यार्थी, स्थानीय बासिन्दा र विभिन्न संस्थासँग सहकार्य गर्दै वन तथा वातावरण शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ जसले संरक्षणबारे स्थानीय तहमा चेतना अभिवृद्धि गरेको छ।
अधिकारीहरूका अनुसार, स्थानीय समुदायको निरन्तर सहयोग, प्रहरी तथा सेनासँगको समन्वय र प्रविधिमूलक सुरक्षा प्रणाली नै सफल संरक्षणको मुख्य आधार हो।