फागुन २१ को निर्वाचन लक्षित गर्दै रुपन्देही–३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय

खबर नागरिक

भैरहवा, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा  मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । । निर्वाचन प्रक्रिया प्रभावकारी र व्यवस्थित बनाउन भैरहवास्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनका सबै तयारी चरणबद्ध रूपमा अघि बढाइनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गराउन राज्यका सबै निकाय सक्रिय रहेको उहाँले बताउनुभयो । निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको उत्सवका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै उहाँले राजनीतिक दलहरूको जिम्मेवारी अझै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

निर्वाचन प्रक्रियालाई अनावश्यक रूपमा खर्चिलो र उत्तेजनात्मक नबनाउन दलहरूलाई सचेत रहन आग्रह गर्दै बस्नेतले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो । आचारसंहिता उल्लङ्घन भए कानूनी प्रक्रिया अघि बढाइने चेतावनी पनि उहाँले दिनुभयो ।

यसैबीच, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जिल्लाभर सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिनुभयो । सबै पक्षको सहयोग बिना निर्वाचन सफल नहुने उल्लेख गर्दै उहाँले आम नागरिकलाई सहयोगका लागि आह्वान गर्नुभयो ।

जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार शुक्रबार नै रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । जिल्लाभर २०९ मतदानस्थल र ७३२ मतदान केन्द्र तोकिएका छन् ।

रुपन्देहीमा कुल ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् । तीमध्ये ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष तथा ९ जना अन्य मतदाता छन् ।

मुख्य निर्वाचन अधिकृत बस्नेतले फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकहरू यस निर्वाचनमा मतदान गर्न योग्य हुने जानकारी पनि दिनुभएको छ ।

प्रतिक्रिया