भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली अवैध रूपमा भित्र्याइएका करिब ९७ लाख रुपैयाँ बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ। जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ९७ लाख १२ हजार ४२ रुपैयाँ बराबरको चोरी पैठारीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरबाट भारतीय स्कारपियो गाडीसहित ठूलो परिमाणमा सुन काट्न प्रयोग हुने उपकरण र सुन बरामद गरेको छ। बरामद सामानमा १०१ वटा फलामको डाई, १ रोल पित्तलको पाता, १ तोला २८ लाल सुन र अन्य प्राविधिक सामानहरू रहेका छन्। उक्त सामानको मात्रै मूल्य ७ लाख ३७ हजार भन्दा बढी रहेको प्रहरीको भनाइ छ।
यसैगरी, रुपन्देहीका अन्य विभिन्न गाउँपालिका र नगरपालिकाबाट ठूलो परिमाणमा तरकारी, फलफूल र मासुजन्य वस्तुहरू बरामद गरिएको छ । विभिन्न स्थानबाट करिब १ हजार केजी भन्दा बढी केरा, ४०० केजी खरबुजा, चिनी, केराउ, र हरियो तरकारीहरू बरामद भएका छन्।
यस्तै सिद्धार्थनगर–२ बाट १ लाख मूल्य बराबरको किराना सामान र वडा नं. ६ बाट २५ केजी अवैध बोइलर कुखुराको मासु नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमध्ये पशुजन्य वस्तुलाई पशु क्वारेन्टाइन कार्यालय भैरहवा र अन्य सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि बेलहिया भन्सार कार्यालय पठाइएको छ।