निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आयोगले वेबसाइटमा मतदाताको नामावली प्रकाशन गरेको हो ।
आयोगले प्रदेशसभा सदस्य ५ सय ४३ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका मेयररउपमेयर १ हजार ४ सय ९८ जना गरि कुल २ हजार ४३ मतदाताको नामावली सार्वजनिक गरेको छ ।
स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेश बमोजिम पदमुक्त भएका १ जना र निलम्बनमा परेका ४ जना गरि ५ तथा पालिकाका पदाधिकारीमध्ये निधन भएका १ जना र निलम्बनमा रहेका ७ जना गरि ८ मतदाताको नामावली समावेश नभएको आयोगले जनाएको छ ।
पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने पनि आयोगले जनाएको छ । यस्तै आयोगले राष्ट्रियसभा सदस्य चुनावका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासहित निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासहित निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
को कहाँ अधिकृत
कोशी प्रदेश– न्यायाधीश भीष्मराज प्रसाईं
मधेश प्रदेश– न्यायाधीश शुभाषबाबु पुरी
बागमती प्रदेश– न्यायाधीश गीता श्रेष्ठ
गण्डकी प्रदेश– न्यायाधीश हिमलाल वेल्वासे
लुम्बिनी प्रदेश– न्यायाधीश प्रकाशप्रसाद पण्डित
कर्णाली प्रदेश– न्यायाधीश दीपक ढकाल
सुदूरपश्चिम प्रदेश– भुवनसिंह थापा
आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि माघ ११ गते मतदान हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार यही पुस १९ गते नामावली प्रकाशन तथा दाबी विरोध र उजुरीमाथि छानबिन गरी पुस २२ गते अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारको मनोनयन पुस २३ गतेका लागि तोकिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।