सिमामा बढाइयो सुरक्षा संयन्त्रः ७ महिनामा झण्डै २३ करोडको अवैध सामान नियन्त्रणमा

माेहम्मद हबिब

भैरहवा । रुपन्देही भारतसँग ७० किलोमिटर खुला सिमासँग जोडिएको छ । सिमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम नियमित कामसँगै अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । तस्करी न्युन पार्ने अभियानमा लागेको सुरक्षानिकायले दैनिक जसो अवैध सामान बरामद गरेपनि तस्करहरु पछि हटेका छैनन । सुरक्षाकर्मीले बरामद गरिरहेको अवैध बस्तुले नै तस्करी नरोकिएको पुष्टि हुन्छ । तस्करी रोक्नकै लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार गस्ती टोलीको ठूलो जनशक्ति परिचालन भएपनि खुला सिमाको फाइदा उठाउदै विभिन्न नाकाबाट अवैध ओसारपसार गरिरहेका छन । 

यस वर्षको तथ्याङक हेर्ने हो भने जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले २२ करोड ८८ लाखको अवैध सामान बरामद गरेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कमाण्ड प्रहरी उपरिक्षक प्रदिप बहादुर क्षेत्रीको जिम्मामा छ भने सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीको कमाण्ड सशस्त्र प्रहरी उपरिक्षक मेखराज जोशीले सम्हालिरहेका छन । रुपन्देहीको नेतृत्व सम्हालेदेखि नै द्वय एसपीले तस्करहरुमा निर्मम बनेसँगै यो सफलता हासिल भएको छ । कमाण्डरले तस्कर विरुद्ध अभियान नै चलाई सिमाबाट हुने अवैध कारोबारलाई रोक्न कडा रुपमा प्रस्तुत भएकोले नै फलस्वरुप प्रत्येक महिना लाखौको अवैध सामान बरामद भइरहेको हो । एसपीको एक्शनले तस्करहरु हच्किए पनि केही सुरक्षाकर्मीको संल्गनताले आखा छलेर काम गर्ने प्रसय मिलेको छ । कतिपयले तस्कर पेशा नै छाडेका छन भने कतिले अन्य नाकाबाट पर्ख र हेर भन्नेमा छन । मौलाउदै गरेको तस्करीलाई रोक्न द्वयले सबै युनिट इन्चार्जहरुलाई निर्देशन दिदै दैनिक अवैध गतिविधी नियन्त्रणमा आएका हुन ।

प्रहरीले अवैध सामान बरामद निरन्तर गरेपनि तस्करी भने रोकिएको छैन । सुरक्षा निकायको सिमित साधन स्रोत र जनशक्तिले अधिकतम काम गर्दा पनि खुला सिमाको फाइदा उठाउदै तस्करहरुले संगठित रुपमै आखाँ छलेर तस्करी गरिरहेका छन । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएको भारीमात्रामा अवैध सामान पनि सुरक्षा निकायले बरामद गरेको । भदौ २३ र २४ गते भएको घटनाले प्रहरीको केही मनोबल घटेकोले यो तथ्याङक अझै बढ्ने अपेक्षा सुरक्षा निकायको थियो । 

जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार बैशाख देखि कार्तिक सम्म १४ करोड १३ लाख १६ हजार बराबरको अवैध सामान नियन्त्रण लिएको छ । यस्तै सशस्त्र प्रहरीले पनि ७ महिनामा ८ करोड ६८ लाख ८६ हजारको अवैध सामान बरामद गरेको छ । प्रस्तुत छ द्वय निकायको मासिक तथ्याङक । 

तथ्याङक अनुसार पछिल्लो सात महिनामा सरदर मासिक ३ करोडको अवैध सामान द्वय सुरक्षा निकायले बरामद गर्ने गरेको पाइएको छ । यो तथ्याङक विगतको महिना भन्दा बढि हो । तस्करीमा संलग्न केहीलाई नियन्त्रणमा लिई मुद्धा पनि चलाइएको छ । यसको अलावा भैरहवा भन्सार कार्यालय, राजश्व अनुसन्धान र राजश्व कार्यालयले पनि अवैध तथा राजश्व छलीको निगरानी गरी नियन्त्रणमा लिने गर्छन । 

बरामद सामानमा सबै भन्दा बढि कपडा, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु,  चिनी लगायतको दैनिक उपभोग्य बस्तुहरु रहेका छन । यसका अलावा कुखुरा चल्ला, पशु, मोबाइल, काठ, कस्मेटिक, खाद्यान्न लगायतका बस्तु र तस्करीका सामान बोक्नका लागि मोटरसाइकल र गाडीहरु पनि व्यापक रुपमा प्रयोग भएकोले त्यसलाई पनि नियन्त्रणमा लिएको छ । 

सिमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका छन । पारिबाट ल्याएर गोदाममा राखेपछि स्थानीय उत्पादन बनाई खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा पठाउने गरेका छन । अहिले केही तस्करहरुले धानको सिजनको मौकामा स्थानीयसँग केही धान खरिद गरी पारीबाट ल्याएको खाद्यान्नलाई स्टक देखाउने मनसायले काम गरेका छन । 

पछिल्लो समय सिमा क्षेत्रबाट दैनिक जसो मटर, चिनी र कपडाको तस्करी भइरहेको छ । यस्तै तेस्रो मुलुकबाट नेपाल आएको बस्तु ड्राई फ्रुटुस(खरबुजाको विया), पपकर्न मकै, अखरोट लगायतका बस्तु भारत तर्फ गईरहेको छ । साना तस्करहरुले दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, हर्दीडाली, बनगाई नाका त्यस्तै सेमरपानी, भ्ुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका नाकाबाट तस्करी गर्ने गरेका छन । भने पिकअप, टयाक्टर र ठूला मात्रामा मोटरसाइकलमा तस्करी गर्ने समूहले त्रिलोकपुर, करौता र (मैनिहवा)भगवानपुर नाकाबाट काम गरिरहेका छन । स्रोतका अनुसार केही सुरक्षा निकायको संलग्नतामा ति तस्करीहरु भइरहेका छन । नेपाल प्रहरीको नयाँ आइजिपी नियुक्त भएसँगै तस्करहरुको मनोबल बढेको पाइएको छ, केही समय फुटेका तस्करहरु अहिले संगठित हुनका लागि भैरहवाका होटलहरुमा तारम्तार मिटिङ गरिरहेका छन । 

राजश्व चुहावट,अवैध गतिबिधि नियन्त्रण गर्न खटिए सशस्त्रका एसएसपी कर्णजित खटिए

लुम्बिनी प्रदेशसँग जोडिएका मुख्य सिमानाकाबाट हुने राजश्व चुहावट लगायत्का अवैध गतिबिधि नियन्त्रण गर्न सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविनराज कर्णजितलाई खटाइएको छ । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म, कृष्णनगर, कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म, जमुनाह, बाँकेमा रहेर लुम्बिनी प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्ने गरी उनलाई खटाइएको हो । 

सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा उनले दैनिक तथा साप्ताहिक रूपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन बुझाउने गरी उनी यहाँ तैनाथ रहेका छन । 

राजश्व चुहावट नियन्त्रण गर्ने र भारतसँगको खुल्ला सिमानाबाट हुने अवाञ्छित गतिबिधि नियन्त्रण गर्ने उद्देश्यले भारतसँगको मुख्य सिमा नाकाहरु हेर्ने गरि एसएसपीले सम्बन्धित सीमा क्षेत्रमा खटेर राजश्व चुहावट, चोरी निकासी तथा पैठारी सम्बन्धी गैर कानूनी कार्यमा रोक लगाउनुका साथै सो कार्यमा संलग्न देखिएका व्यक्तिहरूलाई तत्काल कारबाहीको दायरामा ल्याइने छ । 

यस्तै सिमामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि राष्ट्रिय अनुसन्धान, भैरहवा भन्सार कार्यालय, सबै सुरक्षा निकायका प्रतिनिधी, आन्तरिक राजश्व कार्यालय लगायतको संयुक्त गस्ती टोली पनि गठन भई निरन्तर निगरानी गर्नेछ ।  यस अघि भैरहवा भन्सारको नेतृत्वमा हुने गरेको संयुक्त गस्ती टोलीले पनि कामलाई निरन्तरता दिइने छ । 

दुई हजार सुरक्षा जनशक्ति

सिमा सुरक्षा र अवैध गतिविधी नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ, सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरले रुपन्देहीको लागि दर्जनबढि शसस्त्र प्रहरी बलको युनिटमा ७ सय छन् । गण, बर्डर आउट पोष्ट र गुल्म, सुरक्षा बेश, जिल्ला कमाण्ड पोस्ट सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवा लगायतका शसस्त्र प्रहरीकै युनिटहरु रहेको छ, आवश्यकता अनुसार घुमुवा प्रहरी सादा पोशाकका प्रहरी छन । सशस्त्र पछि नेपाल प्रहरीको पनि जिम्मेवारी अवैध बस्तुको ओसारपसर नियन्त्रणमा छ । जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षकको कमाण्डमा जिल्लामा कुल ६ दर्जन बढि प्रहरी युनिटमा १२ सय प्रहरी छन । ठाँउ ठाँउमा अस्थायी चेकपोस्ट र मोबाइल टोली, तस्करी नियन्त्रण गर्न, अनुसन्धान र सुचनाहरु लिनका लागि भन्दै सादा पोशाकका प्रहरी पनि खटिने गरेका छन । यसका अलावा राष्ट्रिय अनुसन्धान, संघीय प्रहरी कार्यालय लगायतका अन्य सुरक्षा संयन्त्र पनि छन । सुरक्षा घेरा हुदै गर्दा पनि तस्करका सामान निर्वाध भित्रिरहेका छन यसले सुरक्षा निकाय माथी नै चुनौती दिएको छ । रुपन्देहीमा करिब २ हजार सुरक्षाकर्मी परिचालन छन ।  


प्रतिक्रिया