रुपन्देही–४ मा प्रमोद यादवः एमालेबाटै समृद्ध मर्चवार सम्भव

खबर नागरिक

रुपन्देही । नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार प्रमोद कुमार यादवले मर्चवार क्षेत्रको समग्र विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको बताएका छन् । मंगलबार पत्रकारहरु संग कुरागर्दै उनले अहिले एमालेप्रति जनलहर बढ्दै गएको र विशेष गरी जेन–जि तथा जेन–वाई पुस्ता पार्टीलाई विजयी बनाउन उत्साहका साथ लागिपरेको उल्लेख गरे ।

यादवले भने, “आज विभिन्न दलका उम्मेदवारहरू घर–घर पुगेर जनतासँग संवाद गरिरहेका छन्, यो राजनीतिक संस्कार एमाले, केपी ओली र महेश बस्नेतहरूले सुरु गरेको अभियानको परिणाम हो ।” जति पार्टी आए पनि एमालेजस्तो राष्ट्रप्रति जिम्मेवार र विकासप्रेमी दल अरू नभएको उनको भनाइ थियो । देश निर्माण, विकास र समृद्धि ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताउँदै उनले देश बेच्ने प्रवृत्तिविरुद्ध एमाले सधैं उभिएको स्पष्ट पारे । “यो देश हाम्रो हो, हामी आफैंले बनाउनुपर्छ, त्यसका लागि सबै एकढिक्का भएर एमालेको पक्षमा उभिनुपर्छ,” उनले जोड दिए ।

आफू निर्वाचित भए मर्चवार क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिने यादवको प्रतिबद्धता छ । बेथरीदेखि थुम्हवासम्मको सडकलाई चार लेनमा स्तरोन्नति गरी लुम्बिनी–मर्चवारी–भैरहवा जोड्ने सडक सञ्जाललाई व्यवस्थित गर्ने उनले बताए । मर्चवार लिफ्ट सिँचाइलाई प्रभावकारी बनाएर यहाँका खेतहरूलाई वर्षैभरि सिँचित गर्ने योजना अघि सारिएको छ । किसानको उत्पादनले उचित मूल्य पाओस् भनेर मर्चवारी कृषि हाट बजारलाई व्यवस्थित गरी सिधै खरिद गर्ने प्रणाली लागू गरिने उनले सुनाए ।

समरीमाईमा निर्माणाधीन शीत भण्डारलाई सम्पन्न गरी बीउबिजन केन्द्र सञ्चालन गर्ने, बन्द अवस्थामा रहेको आँखा अस्पताल पुनः सञ्चालनमा ल्याउने तथा तरेनी थुमुवामा छोटी भन्सार स्थापना गर्ने योजना पनि उनले सार्वजनिक गरे । प्रत्येक पालिकामा कम्तीमा १५ शैयाको अस्पताल, सुविधासम्पन्न स्वास्थ्य संस्था र सर्पदंश उपचार केन्द्र स्थापना गरी स्वास्थ्य सेवालाई सहज बनाउने यादवको लक्ष्य छ ।

शिक्षातर्फ कोटहीमाईको मझगावमा रहेको डिग्री कलेजलाई व्यवस्थित गर्ने र मर्चवारमा कृषि प्राविधिक शिक्षालय सञ्चालन गर्ने उनको योजना छ । युवालाई खेलकुदमा आकर्षित गर्न अन्तर्राष्ट्रियस्तरको कुस्ती स्पोट्र्स एकेडेमी, सुविधायुक्त खेल मैदान र फुटबल, भलिबल तथा क्रिकेट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

पूर्वाधारतर्फ मर्चवार रिंगरोड निर्माण, भैरहवा विमानस्थलदेखि बेथरी–छपिया हुँदै वनघुसरीसम्म सडक स्तरोन्नति, छपियादेखि लुम्बिनी जोड्ने मार्ग सुधार तथा दानव नदीमा पक्की पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ । डुबान समस्या समाधानका लागि तटबन्ध निर्माण, घरघरमा शुद्ध खानेपानी धारा जडान, सार्वजनिक शौचालय, वाइफाइ सेवा र हरेक पालिकामा दमकलको व्यवस्था गर्ने प्रतिबद्धता उनले जनाए ।

धार्मिक तथा ग्रामीण पर्यटन प्रवद्र्धन गरी मर्चवारीमाई, कोटहीमाई, समरीमाईलगायत क्षेत्रलाई राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि उनले अघि सारे । जेन–जि पुस्ताको जोश र जेन–वाई पुस्ताको अनुभवलाई एकसाथ जोडेर “समृद्ध मर्चवार, सुखी मर्चवारबासी” अभियान सफल बनाउने उनको भनाइ छ ।

यादवले मर्चवारलाई अन्न भण्डारको केन्द्रका रूपमा स्थापित गराई संघीय सरकारबाट विशेष कार्यक्रम ल्याउने, किसानलाई मलखादको सहज उपलब्धता गराउने र स्थानीय उत्पादनमा आधारित रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्त्यमा उनले सूर्य चिन्हमा मतदान गरी विकास र समृद्धिको यात्रामा साथ दिन मतदातासँग आग्रह गरे ।


प्रतिक्रिया