तराईका सबैजसो ठाउँमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो कम्तीमा अझै तीन दिन कायम रहने जनाएको छ ।
यसबाट जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने हुँदा आवश्यक सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार केही दिनयता विशेषगरी तराईका धेरै ठाउँमा हुस्सुरकुहिरो लाग्दै आएको छ । यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो झोलिलो खानेकुरा खान सल्लाह छ ।
आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज तराईमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ । आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति पनि यही सिलसिला रहनेछ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । काठमाण्डौ उपत्यकामा हिजो न्यूनतम तापक्रम ४ दशमलव ९ डिग्री सेल्सियस रहेकोमा आज बिहान पौने ६ बजे ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।