बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरका १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्यु भएको भन्दै परिवारले सत्यतथ्य घटना बाहिर ल्याउन माग गरेका छन् । ईशानका परिवारले मृत्यु कुनै पनि दुर्घटनाबाट नभई हत्या भएको भन्दै सत्यतथ्य छानविन गरेर दोषिलाई कारबाही गर्न माग गरेको हो ।
कञ्चन गाउँपालिका-३ का पौडेलको दुर्घटनाबाट मृत्यु नभई हत्या भएको ईशानका ठुलो बुवा पुष्पराज शर्माले दाबी गरे । इशानको शव पुस ३ गते बिहीबार घर नजिकैको नालीमा चोटपटक लागेको अवस्थामा भेटिएको थियो । ‘घटनाको वस्तुगत अवस्था, शवको प्रकृति, घटना स्थलमा भएको अवस्थाले इशानको मृत्यु गाडी दुर्घटनामा भएको होईन, त्यो हत्या नै हो । यसको छानविन चुस्त होस’ उनले भने ।
पुस २ गते विद्यालयमा तेकान्दो सिकाएर घर आएका उनी साँझ साढे ५ बजे साथीसँग जीम जाने भन्दै घरबाट थकालीचोक तिर गएका थिए । त्यसपछि साँझ करिव साढे ७ बजे ईशान रुद्रपुरकै सुनगाभा चोकबाट साथीसँग विदा भएर हातमा जुत्ता लिएर घरतर्फ हिँडेको सिसिटीभिमा देखिएको छ ।
सोही दिन घर नआएका ईशानलाई परिवारले साथीकोमा बसेको भन्दै खोजविन गरेन । अर्को दिन भने विद्यालयमा समेत इशान नगएपछि परिवारले ईशासनको खोजी सुरु गरेको थियो । इशानका ठुलो बुवा पुष्पराज शर्माले पनि अर्को दिन मात्र ईलाका प्रहरी कार्यालय रुद्रपुरमा ‘बालक हराएको’ सूचना दिन पुगेको बेला मात्र इशानको शव भेटिएको खवर पाएको बताए ।
मृतक इशानका बुवा अर्जुन शर्माले ईशानको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रुपमा गरिएको हत्या गरिएको बताए । उनले वास्तविक दोषीलाई उन्मुक्ति दिन नक्कली ९डमी० दोषी खडा गरिएको समेत बताए ।‘देव्रे खुट्टा भाचिएको छ । बाहिर रगतका थोपा केही छैन । दुर्घटनास्थलमा ब्रेक लागेको संकेत छैन । धुलो माडिएको छैन । हिलो घसारिएको छैन । एक्कासी टिपेर लगेर राखिएको जस्तो छ । टाउँको गम्भिर चोट, आखामा चोट छ । दुर्घटनामा यस्तो हुँदैन । आँखाको नानीमा लक्षित गरेर प्रहार गरिएको छ’ उनले भने । उनले यस घटना हत्या नै हो भन्ने प्रसस्त कारणहरु समेत रहेको बताए ।
‘हातमा जुत्ता समाएर दौडिएको अन्तिम फुटेजमा देखिएको छ । हातमा समाएको जुत्ता पोलको फेदमा समालेर राखिएको अवस्थामा भेटिएको थियो । खुट्टमा लगाइएको जुत्ता छरिएको अवस्थामा भेटियो । मोबाईल त्यो दिन खोज्दा भेटिएन । तर अर्को दिन साढे ११ बजे अम्बाको बोट मुनि मोबाईल भेटियो । यी हरेक कुराले हत्यालाई लुकाउन नक्कली दोषी ‘डमी’ तयार गरिएको हो’ उनले भने ।
ईशानकी आमा रमा शर्माले आफ्नो बुढेशकालको साहारा लठ्ठी भाचिएको भन्दै ईशानलाई न्याय दिन माग गरिन ।
प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । उनको शव घरभन्दा डेढ सय मिटर टाढा नालीमा भेटिएको थियो । उनको टाउकोको पछाडि भागमा चोट थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुरज कार्कीले ईशानको दुर्घटनामा मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको भन्दै आफुहरु अझै अनुसन्धानमै रहेको बताए । ईशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो ।
फोर्स चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । ‘दुर्घटना गराएको चालकले स्वीकार गरेको छ । दुर्घटना भए पश्चात भागौ भनेर उक्साउनेलाई समेत हामीले नियन्त्रणमा लिएका छौ ।’ उनले भने ।घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।