३४ सय ८४ जनाको उम्मेदवारी, आज उजुरी दिन सकिनेः शान्तिपूर्ण बनाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

खबर नागरिक

प्रतिनिधिसभा सदस्यका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ३४ सय ८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र १ हजार १८७ जनाले  मनोनयन दर्ता गराएका हुन् ।

कूल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८ र महिला ३ सय ९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिनेछ ।

निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उजुरीपछि भोलि बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । नाम फिर्ता लिन र दाबी विरोधपछि उम्मेदवारको सङ्ख्या केही घट्न सक्छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

हिजो देशैभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउने उहाँको विश्वास छ । 

प्रधानमन्त्री कार्कीद्वारा उत्साहजनक मनोनयनप्रति आभार, निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारप्रति आभार प्रकट गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले मनोनयन दर्ता कार्यलाई निर्वाचनको महत्त्वपूर्ण कोशेढुङ्गाको संज्ञा दिँदै सरकार शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने र सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ खटिएको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको १६५ सिटका लागि ३ हजार ४०० भन्दा बढी उम्मेदवारी पर्नुले लोकतन्त्रप्रतिको जनविश्वास पुष्टि गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस उत्साहले मुलुकमा रहेको अन्योल र अनिश्चितता अन्त्य गरेको बताउनुभयो । उहाँले निर्वाचन आयोगको अहोरात्र खटाईको प्रशंसा गर्नुहुँदै राजनीतिक दल, सञ्चार माध्यम र नागरिक समाजलाई रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । साथै, प्रधानमन्त्री कार्कीले दिगो लोकतन्त्रका लागि सम्पूर्ण देशवासीलाई संयमित भई सक्रिय रूपमा निर्वाचनमा सहभागी हुन अपिलसमेत गर्नुभएको छ ।

प्रतिक्रिया