निर्वाचनमा तीन लाख ३२ हजार सुरक्षाकर्मी परिचालन हुने, २१ माघदेखि सेना परिचालन

खबर नागरिक

२१ फागुनको निर्वाचनमा तीन लाख ३२ हजार सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ । जसमा निर्वाचन म्यादी प्रहरीको संख्या मात्र डेढ लाख हुनेछ । त्यस्तै, ७८ हजार सैनिक, ७० हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र करिब दुई हजार राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।

सुरक्षाकर्मी परिचालनबारे गत कात्तिकमै निर्वाचन सुरक्षा योजना केन्द्रीय सुरक्षा समितिको बैठकले पारित गरिसकेको छ । यद्यपि, निर्वाचन प्रहरीको संख्या भने अर्थ मन्त्रालयले उपलब्ध गराउने बजेटका आधारमा तय हुने मन्त्रालयका अधिकारी बताउँछन् । गृह मन्त्रालयको आकलनअनुसार एकै चरणमा निर्वाचन हुँदा कम्तीमा तीन लाख २५ हजार सुरक्षाकर्मी आवश्यक पर्नेछ । निर्वाचनमा विगतमा जस्तै नेपाल प्रहरी र निर्वाचन प्रहरी पहिलो घेरामा खटिनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेना खटिनेछ । निर्वाचन सुरक्षाका लागि २१ माघदेखि नै सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिइसकेका छन् ।

  • निर्वाचन प्रहरी : १ लाख ५० हजार 
  • सेना : ७८ हजार 
  • नेपाल प्रहरी : ७० हजार 
  • सशस्त्र प्रहरी :  ३२ हजार 
  • गुप्तचर : २ हजार

आगामी निर्वाचनका लागि नेपाली सेना २१ माघदेखि मात्र परिचालन हुने भएको छ । निर्वाचन सुरक्षा योजनाअनुसार एक महिनाअघिदेखि सेना परिचालन गरिने सैनिक प्रवक्ता राजाराज बस्नेतले बताए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमै सेना परिचालनका लागि स्वीकृति दिइसकेका छन् । सुरक्षा योजनाअनुसार निर्वाचनमा सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिनेछ । निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपश्चात् गरेर तीन चरणमा सेना परिचालन हुने सैनिक प्रवक्ता बस्नेत बताउँछन् । सेनाले विमानस्थल, कारागारलगायत महŒवपूर्ण संरचनाको सुरक्षा सम्हाल्नेछ । त्यहाँ कार्यरत प्रहरीलाई निर्वाचनमा खटाउने गृहको तयारी छ ।

प्रतिक्रिया