भैरहवा । बेलहिया गााउ समाजको अग्रसरतामा ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय, १ नम्बर वडा कार्यालय, स्थानीयहरुको बैठकले अव्यवस्थित हुदै गएको बेलहियालाई व्यवस्थित र हराभरा बनाउनका लागि हाम्रो बेलहिया राम्रो बेलहिया र सुन्दर हराभर बेलहिया अभियान सुरु भएको छ ।
स्थलमार्ग भई सबै भन्दा बढी पर्यटक आउने अन्तराष्ट्रिय नाकाको रुपमा रहेको बेलहियामा अव्यवस्थित पार्किङले सबैले सास्ती खेप्नलागेपछि सोमबार बसेको स्थानीय र सरोकारवाला निकाय बीचको बैठकले अर्जुन कुमार गिरीको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन भइ अव्यवस्थित रुपमा रहेका ठेला, रिक्सा, इरिक्सा, टयाक्सी लगायतका सवारीासधनहरुको व्यवस्थापन सुरु भएको छ । समितिले यसका अलावा फोहोरमैला, सरसफाई, लागुऔषध तथा चेलिवेटीबेचविखन न्यूनिकरण लगायतको क्षेत्रमा पनि काम गर्ने बेलहिया गाँउ समाजका अध्यक्ष सुमन शर्माले बताए ।
भारतबाट सवारी भर्ने उद्धेश्यले अस्थायी पास बनाउदै आएका भारतिय नम्बर प्लेटका गाडी यत्रतत्र बस्दा, ईरिक्साले जथाभावी पार्किङ गरी सवारी भर्दा, टयाक्सी र क्यासिनोका गाडी अव्यवस्थित रुपमा हुदा बेलहियाको स्वरुपमा नै प्रश्न चिन्ह उठ्ने र दुर्घटनाको जोखिम हुनेहुदा गाँउ समाज र स्थानीय प्रशासनको समन्वयमा सडकको दुबै तर्फको सर्भिस रोडलाई वान वे एकतर्फी बनाउने, जथाभावी गरिएको फोहोरलाई व्यवस्थापन गरी स्वच्छ वातावरणको सृजना गर्ने गरी काम अगाडि बढेको पार्किङ व्यवस्थापन समिति संयोजक अर्जुन गिरीले बताए ।
ट्राफिक व्यवस्थापन प्रहरीले एक्लै भन्दा सबैको सहकार्यले हुने हुदा बेलहियाबाट स्थानीय गाँउसमाजकोे सक्रियातमा व्यवस्थापनको काम अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रतिमा कार्कीले बताइन । आज सम्झाई बुझाई गरेको र आगामी दिनमा कानुन अनुसार कारवाही गरिने बताइन ।
नेपाल टेम्पु तथा इरिक्सा संघको सल्लाहकार निरज शाहीले कानुनी रुपमा मान्यता प्राप्त ईरिक्साले सहमति जनाउदै व्यवस्थापनमा साथ दिने बताए ।
प्रशासन, गाँउसमाज र सवारीसाधन सम्बद्ध प्रतिनिधीको समझदारीमा भन्सारको २ नम्बर गेटको केही भाग छोडेर सर्भिस रोड तर्फ नम्बर अनुसार १० वटा टयाक्सी, १५ वटा ईरिक्सा व्यवस्थापन गर्ने यस्तै ३ नम्बर गेट छोडेर त्यहा हरेक क्यसिनोको एकवटा गाडी नम्बर अनुसार राख्ने तय भएको छ ।