भैरहवा । प्रतिनिधि सभा निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशव्यापी रूपमा अग्रता कायम राखेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार समानुपातिकतर्फ जम्मा ८३ लाख ८२ हजार ९८४ मत गणना हुँदा रास्वपा एक्लैले ४० लाखभन्दा बढी मत प्राप्त गरेको छ। प्रारम्भिक मतपरिणाम हेर्दा यसपटक संसद्मा ३ प्रतिशत मत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने पार्टीको संख्या ६ वटा हुने देखिएको छ।
निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार रास्वपाले ४० लाख ५० हजार ७५३ मत पाएर पहिलो स्थानमा राज गरेको छ। यो हालसम्म गणना भएको कुल मतको ४८ प्रतिशतभन्दा बढी हो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१ मत अर्थात १६ प्रतिशत मत पाएको छ। अघिल्लो निर्वाचन २०७९ मा २८ लाख मतसहित समानुपातिकमा पहिलो दल बनेको नेकपा एमाले भने अहिले ११ लाख ५१ हजार २५६ मत अर्थात १३ प्रतिशत मत सहित तेस्रो स्थानमा खुम्चिएको छ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ९२ हजार ४१० मत अर्थात ७ प्रतिशत मत पाएको छ। पाचौ स्थानमा रहेको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ६३ मत अर्थात ३ प्रतिशत मत पाएको छ।छैठो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ लाख ७७ हजार १३ मत अर्थात ३ प्रतिशत मत पाएको छ। यी ६ वटै दलले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउने देखिएको छ। यसपटक ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना बढेको हो।
अन्य दलहरूतर्फ जसपा नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, ले १ लाख कटाएपनि थ्रेसहोल्ड कटाउन सकेका छैनन ।
समानुपातिकतर्फको प्रारम्भिक मतपरिणाम हेर्दा अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बनेका मधेश केन्द्रित र क्षेत्रीय दलहरूको अवस्था यसपटक दयनीय देखिएको छ।
गत निर्वाचनमा राष्ट्रिय दल बनेका जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीलाई यसपटक ३ प्रतिशत मत कटाएर राष्ट्रिय दल बन्न निकै कठिन हुने देखिएको छ।
देशैभरका मतगणना स्थानमा अहिले मतगणना जारी छ। हाल सम्म्को तथ्याङ अनुसार प्रत्यक्ष तर्फ रास्वपा १२४ स्थानमा जित निकालेको छ भने १ स्थानमा अग्रता छ । कांग्रेसको १७ मा जित एक स्थानमा अग्रता, एमालेको ८ स्थानामा जित १ स्थानमा अग्रता, नेकपाको ७ स्थानमा जित, श्रम संस्कृतिको ३ स्थानमा जित र राप्रपाको १ स्थानमा जित भएको छ ।