नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्य समस्याका रूपमा कायम रहेको ताजा तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८१-८२ का लागि सार्वजनिक गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमको प्रतिवेदनअनुसार करिब ६७ हजार नयाँ टीबीका बिरामी रहेका छन् । तीमध्ये ३९ हजार १५१ जनामात्र औपचारिक रूपमा स्वास्थ्य प्रणालीमा दर्ता भएका छन् । यसले करिब ४१.६ प्रतिशत बिरामी अझै पहिचानबाहिर रहेको स्पष्ट पारेको छ ।
टीबीका कारण नेपालमा हरेक वर्ष करिब १६ हजार मानिसको मृत्यु हुने गरेको छ । जसले रोगको गम्भीरता झनै बढाएको छ । प्रतिवेदनले पुरुषहरूमा टीबीको संक्रमण दर बढी रहेको देखाएको छ, जहाँ करिब ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला संक्रमित छन् । बालबालिकामा पनि संक्रमण देखिएको छ भने वृद्ध उमेर समूह झन् जोखिममा रहेको उल्लेख गरिएको छ ।
प्रदेशगत रूपमा हेर्दा मधेस र वाग्मती प्रदेशमा सबैभन्दा धेरै टीबीका बिरामी रहेका छन् । यद्यपि, कर्णाली र सुदूरपश्चिम प्रदेशमा संख्या कम देखिए पनि स्वास्थ्य सेवा पहुँचको कमीका कारण वास्तविक अवस्था अझ जटिल हुन सक्ने अनुमान गरिएको छ । देशभर डट्स् केन्द्रहरूको संख्या ६ हजारभन्दा बढी पुगेको छ भने आधुनिक परीक्षण प्रविधिको प्रयोग पनि विस्तार भइरहेको छ ।
उपचारतर्फ हेर्दा सामान्य टीबीका बिरामीमा करिब ९२ प्रतिशत सफलता दर देखिएको छ, जुन सकारात्मक संकेत हो । तर, औषधि प्रतिरोधी टीबीको अवस्था भने अझै चुनौतीपूर्ण रहेको छ । नेपालमा वार्षिक करिब २४ सय एमडीआररआरआर–टीबीका बिरामी हुने गरिएको छ, तर तीमध्ये ठूलो हिस्सा अझै पहिचानबाहिर छन् । यसैकारण नेपाललाई उच्च डीआर टीभी भार भएका देशमध्ये एक मानिएको छ ।
टीबी र एचआईभी सम्बन्धित सेवामा भने केही सुधार देखिएको छ । प्रतिवेदनअनुसार ९३.९ प्रतिशत टीबी बिरामीले एचआईभी परीक्षण गराएका छन् । र, एचआईभी सकारात्मक देखिएका बिरामीमध्ये अधिकांशले एआरटी उपचार प्राप्त गरेका छन् । यद्यपि, स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै सामाजिक र आर्थिक चुनौतीहरू भने अझै कायम छन् । प्रतिवेदनले करिब ५१ प्रतिशत टीबी प्रभावित परिवारले उपचारका क्रममा आर्थिक कठिनाइ भोग्नुपरेको उल्लेख गरेको छ ।
श्वासप्रश्वास तथा क्षयरोग विशेषज्ञ डा। दीर्घसिंह बमका अनुसार, क्षयरोग नियन्त्रणका लागि परीक्षण दायरा बढाउने, समयमै उपचार सुनिश्चित गर्ने र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ । उनले सरकारले सेवा विस्तारसँगै सामाजिक सुरक्षा कार्यक्रमलाई समेत सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
दिगो विकासको लक्ष्यअनुसार सरकारले २०३५ सम्म नेपाललाई ‘टीबीमुक्त नेपाल’को लक्ष्य राखेको छ । हालको अवस्था हेर्दा त्यसका लागि अझै ठोस प्रयास आवश्यक देखिएको छ ।
क्षयरोग टीबी एक संक्रामक रोग हो, जुन मुख्यतया माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ । यो रोगले विशेषगरी फोक्सोमा असर गर्ने भए पनि शरीरका अन्य भागमा पनि फैलिन सक्छ । स्वास्थ्य विज्ञहरूका अनुसार, क्षयरोग सर्ने प्रमुख माध्यम हावा हो ।संक्रमित व्यक्ति खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा हावामा साना जीवाणुयुक्त कणहरू फैलिन्छन् । त्यही हावा सासमार्फत अरू व्यक्तिको शरीरमा पुगेपछि संक्रमण फैलिन सक्छ । त्यसैले भीडभाड, बन्द कोठा र कम हावाप्रवाह भएका स्थानहरूमा क्षयरोग टीबी सर्ने जोखिम बढी हुन्छ ।
टीबी लाग्ने प्रमुख कारणमध्ये कमजोर प्रतिरक्षा प्रणालीलाई मुख्य मानिन्छ । कुपोषण, एचआईभी संक्रमण, मधुमेह, दीर्घ रोगहरू वा अत्यधिक मदिरा सेवनले शरीरको रोगसँग लड्ने क्षमता घटाउँछ, जसले टीबी संक्रमणको सम्भावना बढाउँछ ।
त्यसैगरी, लामो समयसम्म टीबी संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा रहनु पनि जोखिमपूर्ण हुन्छ । घरभित्रै संक्रमित सदस्य भएमा अन्य सदस्यमा सर्ने सम्भावना उच्च हुन्छ ।
धूम्रपान पनि टीबीको महत्त्वपूर्ण जोखिम कारकका रूपमा रहेको छ । यसले फोक्सोलाई कमजोर बनाउने भएकाले संक्रमण सजिलै बस्न सक्छ । साथै, भीडभाड, अस्वस्थकर बसोबास र स्वास्थ्य सेवामा पहुँचको कमीले पनि टीबी फैलिन सहयोग पुर्याउने विज्ञहरू बताउँछन् ।
चिकित्सकहरूका अनुसार, टीबी पूर्ण रूपमा उपचारयोग्य रोग भए पनि समयमै पहिचान र उपचार नगरेमा गम्भीर बन्न सक्छ । त्यसैले लामो समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने वा राति पसिना आउने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरिएको छ ।
विशेषज्ञहरूका अनुसार, समुदायस्तरमा जनचेतना अभिवृद्धि, नियमित परीक्षणको पहुँच विस्तार र सामाजिक सहयोगका कार्यक्रमहरूलाई सुदृढ बनाउन सके मात्र क्षयरोग नियन्त्रण प्रभावकारी बन्नेछ ।