भैरहवा, ३० पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित भैरहवा नमूना माध्यमिक विद्यालयकाे व्यवस्थापन समितिको अध्यक्षमा अमित कुमार गुप्ता चयन भएका छन ।
बुधबार विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन भएकाे हाे, यश अघिकाे समितिकाे बैधानिकतामा प्रश्न उठेपछि नयाँ समिति चयन गरिएकाे हाे ।
समितिमा नया अध्यक्ष गुप्ता सहित सदस्यहरुमा लक्ष्मी खत्री, शम्भु दयाल कोरी, अनि हिताङ, लक्ष्मी खत्री, ज्ञानेश गुप्ता र अमिता अग्रवाल रहेका छन । विद्यालयको पदेन सदस्यमा सिद्धार्थनगर नगरपालिका–५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठ र सदस्य सचिवमा विद्यालयका प्राचार्य बासुदेव पौडेल रहने व्यवस्था छ ।
अध्यक्षको जिम्मेवारी सम्हालेपछि युवा व्यवसायी एवं समाजसेवी गुप्ताले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका निम्ति लागिपर्ने बताए । उनले भने–‘विद्यालयमा रहेका कमीकमजोरीलाई सच्याउँदै र अभिभावकले व्यवस्थापन समितिबाट अपेक्षा राखेका विषयलाई सम्बोधन गर्न लागिपर्नेछौं ।’
गुप्ताले लामो इतिहास बोकेको यस विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले कुनै पनि राजनीतिक स्वार्थ बिना नितान्त विद्यालय र विद्यार्थीहरूको हकहितमा काम गर्न आग्रह गरिन्।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले शैक्षिक गुणस्तरलाई सकारात्मक दिशामा अगाडि बढाउन सबैले हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।