भैरहवा । वातावरण प्रदूषण बढी हुने गरेको भन्दै उद्योग विभागले ईट्टा पोल्ने कार्य प्रत्येक वर्षको पुष मसान्त पछिमात्रै शुरु गर्न भनेपनि केही ईटा उद्योगले पुषमै ईट्टा पोल्ने कार्य गरेको पाइएको छ ।
२०८१ कार्तिक ३० गते औधोगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रिको अध्यक्षतामा बसेको औधोगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३ औं बैठकले ईट्टा उद्योगबाट हुने प्रदूषण न्युनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई ईट्टा पोल्ने कार्य प्रत्येक वर्षको पुष मसान्त पछिमात्र शुरु गर्नको लागि ईट्टा उद्योग दर्ता गर्ने निकायहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएपनि केही जिल्लामा पुषमै ईटा पोल्ने काम सुरु भएको छ ।
पुस महिनामा इटाभट्टामा आगो लगाउँदा मौसम प्रतिकुल गर्देै तराईमा शीत लहर, काठमाडौं उपत्यकामा बाक्ले हुस्सु लाग्ने गरेकाले वातावरण प्रदूषण बढी हुने गर्छ । वातावरण मन्त्रालयले वातावरण प्रदूषण बढी हुने गरेको भन्दै व्यवसायीहरूलाई माघ देखि इटा पोल्न भनेको थियो । गत वर्ष यो नियम लागु भएपछि देशभरिका इटा उद्योगीहरुले माघ १ गतेदेखि मात्रै भट्टामा इटा पोल्न थाले पनि यो वर्ष निर्णयलाई नजरअन्दाज गर्दै दाङ, परासी र कपिलवस्तुमा ईटा पोल्ने काम सुरु भएको छ ।
गत वर्षदेखि लागु भएको यो नियमलाई लत्याउदै कपिलवस्तुको दुई उद्योगले ईटा पोल्ने कार्य समय अगाडि नै गरेका छन । कपिलवस्तुको महाराजगंजमा अवस्थित जय माँ काली ईटा उद्योग र बुद्धभुमिमा अवस्थित एन आर एस ईटा उद्योगले समय अगावै ईटा पोल्ने कामको सुरुवात गरेका छन ।
व्यवसायीलाई पनि मर्का नपर्ने र वातावरण प्रदूषणलाई पनि ध्यान दिएर नेपाल सरकार वातावरण मन्त्रालयको आग्रहलाई स्वीकार गर्दै गत वर्ष उद्योगीहरुले पहिला भन्दा ढिला उत्पादन सुरु गरेका थिए । अहिले वातावरण प्रदूषण हुने विषयलाई वेवास्ता गर्दै समय भन्दा अगावै इटा पोल्न सुरुवात गरेका हुन ।
काचो ईटाको उत्पादन गर्ने तर पोल्ने काम तोकेका समयमा गर्ने गरी अन्य जिल्लाका उद्योगीहरु तयारी गरिरहदा केही उद्योगले निर्णयलाई नमान्दै पोल्ने काम नै सुरु गरेकोले अन्य उद्योगीहरु पोल्न सुरु गर्ने कि नगर्नेमा दोधारमा छन । नियमक निकायले नियमन र अनुगमन नगर्दा यसले वातावरणलाई असर पार्ने देखिन्छ ।
कपिलवस्तुमा ११० वटा ईटा उद्योग दर्ता भएकोमा केहीले समय अगावै ईटा पोल्ने कार्य गरेको भए स्थलगत रुपमा गई तुरुन्त बन्द गर्न अनुरोध गर्ने घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ उद्योग अधिकृत सन्तोष खनालले बताए । उनले गत वर्ष आएको परिपत्र अनुसार नै सबै स्थानीय तह र जिल्ला ईटा उद्योग संघलाई गत वर्ष नै परिपत्र गरेको र कार्यान्वयन गर्नु उद्योगीको दायित्व रहेको बताए । यो वर्ष सबैलाई सम्पर्कमा ल्याई कार्यान्वयनका लागि अनुरोध गर्ने र सुरुवात गरेको पाइएमा जति सक्दो छिटो बन्द गराउने उनले भने ।
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीले पनि ईटा उद्योगबाट हुने प्रदुषण न्यूनिकरण गर्न एवं कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई परम्परागत प्रविधियुक्त ईटा उद्योग जस्तै फिक्स चिम्नी भट्टा उद्योग दर्ता नगर्ने, हाल संचालनमा रहेका परम्परागत प्रविधीयुक्त ईटा उद्योगमा जिकज्याक प्रविधिी अवलम्बन गर्ने, ईटा पोल्दा भुसको प्रयोग नगर्ने र ईटा उद्योगमा फाइरिङ पुष मसान्त पछि सुरु गर्ने परिपत्र गरेको छ । कसैले गरेको भए तुरुन्त रोकी निर्देशित मिति पछि मात्रै सुरु गर्ने, परम्परागत चिम्नीलाई आधुनिक प्रविधिमा रुपान्तरण गरी वातावरण प्रदुषण न्यून हुने गरी उद्योग संचालन गर्ने गराउने निर्णय भएको कार्यालयकी प्रमुख शारदा भट्टराईले जानकारी दिइन ।
ईटा पोल्न सुरुवात गरेका एनआरएस ईटा उद्योगका व्यवस्थापक पशुपति अर्यालले खर्च धान्ने उपाय नभएकोले, बैंकको ताकेताका कारण र पुँजीले धान्ने स्थिती नभएकोले बाध्यतावस मर्नु भन्दा तोकेको समय भन्दा अगाडि फाइरिङ्ग गरेको बताए ।
स्टक पनि सकिएकोले र यो वर्ष त्यस्तो कुनै जानकारी नआएकोले उपाय केही नभएपछि पोल्ने कार्य सुरु गरेको हो । उनले यसमा राज्यले पनि सहजीकरण गर्नुपर्ने बताए ।
लागत भन्दा कम मुल्यमा विक्री गर्नुपर्ने बाध्यता छ, ६० प्रतिशत उद्योग बन्द भए पनि हामीले बन्द गर्नु नमिलेको जे जस्तो छ चलाउने भनेर सञ्चालन गरिरहेको व्यवस्थापक अर्यालले भने ।
नेपाल ईटा उद्योग व्यवसायी महासंघका सचिव बाबुराम पाठकले केही उद्योगीले राज्यको कानुन विपरित समय अगावै आगो लगाउने कार्य गरेको सुन्नमा आएकोले यो काम गलत भएकोले महासंघ भत्र्सना गर्दछ । गत वर्ष पनि छिटफुट रुपमा भएको र यो वर्ष नहोस भन्ने चाहना हो । प्रदुषण नियन्त्रण र मौसमको प्रतिकुलताको कारण सरकारले यो निर्णय गरेकोले समय अगाडि गरेको भए रोक्नु पर्ने उनले भने ।
हामीले जिल्लामा सञ्चालित सबै उद्योगलाई सरकारको अनुरोधलाई स्वीकार गरी गतवर्ष जस्तै नै माघ १ गतेदेखि मात्रै ईटा पोल्न अनुरोध गरेको लुम्बिनी इटा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुनिल सिन्धीले बताए । रुपन्देहीका अधिकांस उद्योग अहिले काचो इटा बनाउने तयारीमा जुटेको र माघको सुरुवातसँगै भट्टीमा आगो लगाउने काम हुने उनले बताए । यहाँका इँटाभट्टामा नेपाल र भारतबाट मजदुर परिवारसहित इँटा बनाउन आउने गर्छन । नेपालभरि ११ देखि १२ सय इटा उद्योग रहेको तथ्यांक छ ।