भैरहवा । ओलीविरुद्ध तयार हुँदै गरेको भित्री मोर्चाबन्दी निस्तेज हुने दाबी गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले पार्टीभित्र नेतृत्व परिवर्तन वा विकल्प निर्माणको प्रयास सफल नहुने स्पष्ट पारेका छन्। भैरहवामा प्रेस चौतारी नेपाल, रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बाहिरिएका गतिविधिलाई योजनाबद्ध रूपमा नेतृत्व कमजोर पार्ने कोसिस भन्दै त्यसले कुनै प्रभाव नपार्ने दाबी गरे।
थापाले विगतमा एमालेलाई फुटाएर कोही बलियो नबनेका जस्तै अहिले पनि विभाजनकारी अभियान विफल हुने उल्लेख गरे। उनका अनुसार ओलीको विकल्प खोज्नु अहिलेको राजनीतिक परिस्थितिमा अव्यावहारिक छ, किनकि पार्टीभित्र उनीसँग प्रतिस्पर्धा गर्न सक्ने कद र स्वीकार्यता कसैसँग छैन। उपाध्यक्ष ईश्वर पोखरेललाई समेत परिस्थितिको गाम्भीर्य बुझ्न आवश्यक रहेको सुझाव दिए।
गत महाधिवेशनमा अध्यक्षका विद्रोही उम्मेदवार भीम रावलले मात्र दुई सय मत पाएको उदाहरण दिँदै थापाले आगामी महाधिवेशनमा ओलीविरुद्ध उठ्ने सम्भावित उम्मेदवारहरूको अवस्था अझै कमजोर हुने दाबी गरे। नेतृत्व क्षमता, राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूसँग बहस गर्न सक्ने योग्यता भएका व्यक्तिमात्र पार्टीको अगुवाइ गर्न योग्य हुने उनको तर्क छ।
थापाले पार्टीभित्र मौन बस्ने प्रवृत्तिलाई पनि घातक भन्दै खुला रूपमा बोल्ने नेताहरू औँलामा गन्ने मात्र भएको टिप्पणी गरे। मौनता अपनाउनेहरू ‘ढुंगा’ जस्तै हुने भन्दै यस्तो प्रवृत्ति नेतृत्वका लागि अनुपयुक्त भएको बताए।
जेनजी आन्दोलनका नाममा भइरहेको अराजकता ‘डिजाइन’ गरिएको आरोप लगाउँदै उनले सिंहदरबार र सर्वोच्चमाथि भएका आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे। थापाका अनुसार केही समूह छुट्टिएर हिँड्दा पनि एमालेको मूलधारा कमजोर नपर्ने र पार्टी राष्ट्रिय राजनीतिमा निरन्तर प्रमुख शक्ति बनेर रहनेछ।