भैरहवा । भैरहवास्थित निजी स्वास्थ्य संस्था सिद्धार्थनगर सिटी अस्पतालले मानसिक रोग तथा पेट–कलेजो सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अस्पतालले स्थानीय बिरामीलाई आफ्नै शहरमै विशेषज्ञ उपचार उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको जनाएको हो।
अस्पतालका अनुसार पछिल्लो समय मानसिक स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दै गएकाले नियमित ओपीडी, २४ घण्टा भर्ना सुविधा र गोप्य परामर्श सेवासहित उपचार सुरु गरिएको छ। डिप्रेसन, चिन्ता, तनाव, निद्रा समस्या, व्यवहारिक असन्तुलन तथा लागूऔषध दुरुपयोगजस्ता समस्याको परामर्श, उपचार र फलोअप सेवा उपलब्ध हुनेछ।
यसैगरी पाचन प्रणाली, पेट तथा कलेजो रोगका बिरामीका लागि आधुनिक इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ। यी सेवामार्फत ग्यास्ट्रिक, अल्सर, कलेजो समस्या, जन्डिस तथा आन्द्रासम्बन्धी रोगको परीक्षण र उपचार गरिनेछ।
अस्पताल प्रशासनले नयाँ सेवाले स्थानीय बिरामीलाई टाढा शहर जानुपर्ने बाध्यता घट्ने विश्वास व्यक्त गर्दै सुलभ शुल्कमा गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।