यूसीएमएस भैरहवामा दूरबिन प्रविधिबाट कुम र घुँडाको सफल शल्यक्रिया

खबर नागरिक

भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसीएमएस) शिक्षण अस्पताल, भैरहवामा हाल कुम र घुँडाका जटिल समस्या दूरबिन प्रविधि (अर्थ्रोस्कोपी) मार्फत उपचार गरिने प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ। यूसीएमएसमा उपचार गराएकी एक बिरामीले भनिन्,“यूसीएमएस आएर उपचार गराएँ, अहिले म ठिक भएकी छु।”

दूरबिन प्रविधिबाट गरिएको कुम र घुँडाको शल्यक्रियापछि उनी  निको भएको अनुभव साझा गर्दै अस्पतालप्रति आभार व्यक्त गर्छिन्।

अस्पतालमा अर्थ्रोस्कोपी सेवा सञ्चालन गरिरहेका डा. धनबहादुर कार्की नाम्स अन्तर्गत राष्ट्रिय ट्रमा केन्द्रबाट अर्थोपेडिक्समा स्नातकोत्तर तथा बी एण्ड बी अस्पतालबाट खेलकुद चोटपटक र अर्थ्रोस्कोपीसम्बन्धी विशेष तालिम प्राप्त विशेषज्ञ हुन्। करिब डेढ वर्षदेखि उनले कुम तथा घुँडाका जटिल शल्यक्रियाहरू निरन्तर सफलतापूर्वक गर्दै आएका छन्।

डाक्टर कार्कीका अनुसार घुँडोको लिगामेन्ट तथा मेनिस्कस च्यातिनु, कार्टिलेज बिग्रनु, हड्डी घिस्रिन थाल्नु, घुँडो वरिपरि पानी जम्नुजस्ता समस्याका बिरामी हाल उल्लेख्य रूपमा बढिरहेका छन्। यी अवस्थाको दूरबिन प्रविधिबाट उपचार गर्दा कम चिरफार हुने, न्यून दुखाइ हुने, छिटो स्वस्थ हुन सकिने तथा शरीरमा दाग नपर्ने भएकाले बिरामीले अत्यधिक लाभ उठाइरहेको उल्लेख गरिएको छ।

यसैगरी कुमसम्बन्धी समस्या समाधानमा पनि अस्पतालले महत्वपूर्ण प्रगति गरेको छ। कुम बारम्बार खसकिरहने, नसाच्यातिने, कुम वरिपरि पानी जम्ने, जाम भएर हात नचल्ने तथा दीर्घ समयसम्म फिजियोथेरापीले पनि उपचार नहुने अवस्थाहरू यूसीएमएसमा दूरबिन प्रविधिबाट सहजै सफलतापूर्वक शल्यक्रिया हुँदै आएको छ।

 दशकौंदेखि सेवा दिँदै आएको यूसीएमएस प्रदेशका प्रमुख शिक्षण अस्पतालमध्ये एक मानिन्छ। “बिरामी पहिलो प्राथमिकता” भन्ने मूल मन्त्रसहित अस्पतालले आधुनिक उपकरण, दक्ष चिकित्सक र गुणस्तरीय उपचार सेवा विस्तार गर्दै क्षेत्रीय स्वास्थ्यसेवामा आफ्नो पहुँच र विश्वास निरन्तर मजबुत पार्दै आएको छ।

प्रतिक्रिया