आन्तरिक राजस्व कार्यालय भैरहवा ः लक्ष्य भन्दा बढी राजस्व संकलन

खबर नागरिक

भैरहवा ।आन्तरिक राजस्व कार्यालय, भैरहवा रुपन्देहीले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनाको अवधिमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि कार्तिकसम्ममा लक्ष्य भन्दा १ अर्ब १५ करोड ७८ लाख ५१ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय, भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले साउनदेखि कार्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ती भएको बताउनुभयो । ‘चार महिनामा हामीलाई आन्तरिक राजस्व विभागले दिएको लक्ष्य भन्दा बढी संकलन गर्न सफल भएका छौं, ’उहाँले भन्नुभयो ।

चार महिनामा ४ अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व संकलनको लक्ष्य पाएको यो कार्यालयले ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । प्रमुख कर अधिकृत पोख्रेलले यो लक्ष्यको २७ दशमलव ३ प्रतिशतले बढी र लक्ष्यको १२७ दशमलव ३ प्रतिशत संकलन भएको जानकारी दिनुभयो ।

‘गत आर्थिक वर्षको तुलनामा तुलनामा राजस्व संकलन ५१ द्यशमलव ५ प्रतिशतले वृद्धि भएको छ । उहाँले भन्नुभयो–‘चारै महिना हामीले लक्ष्य हासिल गरेका छौं ।’

राजस्व संकलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात ८२ दशमलव ६ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । ‘मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ । तर, ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ,’ पोख्रेलले भन्नुभयो ।

गत आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले साउनदेखि कार्तिकसम्म ३ अर्ब ५६ करोड २ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रमुख कर अधिकृत पोख्रेलले आन्तरिक राजस्व कार्यालय, भैरहवाले राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको बताउनुभयो । उहाँले  कार्यालय अन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त टीमवर्कबाट नै यो सम्भव भएको बताउनुभयो । प्रमुख कर अधिकृत पोख्रेलका अनुसार आन्तरिक राजस्व कार्यालय, भैरहवा अन्तर्गत ६४ हजार भन्दा बढी करदाताहरु छन् ।

प्रतिक्रिया