भैरहवा। भैरहवामा सञ्चालन भइरहेको स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी शिक्षा निकेतन र रुपन्देही लीलाराम माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेका छन्।
आइतबार सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न खेलहरूमा लुम्बिनी शिक्षा निकेतनले जेसीज बोर्डिङ सेकेण्डरी स्कूललाई २९ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२७ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो। टोलीका लागि बासुदेव यादवले सर्वाधिक ४४ रन जोडे भने जाभेद खानले ३२ रनको योगदान दिए। आजाद खान १० रनमा अविजित रहे।
लक्ष्य पछ्याएको जेसीज टोली ९८ रनमै समेटिँदा लुम्बिनीका बलरहरू प्रभावशाली देखिए। तौफिक अहमद र अफसल खानले समान ३–३ विकेट लिँदै विपक्षी ब्याटिङ लाइन ध्वस्त पारे। उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि तौफिक अहमद ‘प्लेयर अफ द म्याच’ घोषित भए।
त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देही लीलारामले ९ विकेट गुमाएर १ सय ७५ रनको बलियो योगफल बनायो । उसका लागि अजय केवटले ६१ रन अर्धशतकीय पारी खेले । यस्तै, प्रेमसागर यादवले २५ र आयन खानले २२ रन बनाए । बलिङमा स्प्याङ्गलका कृष्ण कोइरी र राजन यादवले २–२ तथा निरज कलवार र अर्मन खानले १–१ विकेट लिए ।
प्रतिउत्तरमा स्प्याङ्गल ११ ओभर २ बलमा ३४ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा लीलारामका फैजन खानले ४, आयन खानले ३, कृष्णमोहन कुर्मीले २ तथा प्रेमसागर यादवले १ विकेट हात पारे । स्प्याङ्गलका अभी चौधरीले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अजय केवट प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।