प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ उम्मेदवारमध्ये पाँचविरुद्ध मात्र उजुरी

खबर नागरिक

काठमाडौं, ७ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मंगलबार दर्ता भएका कुल ३ हजार ४८६ उम्मेदवारमध्ये हालसम्म पाँच जनाविरुद्ध मात्र उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गरिएको हो । दर्ता भएका उजुरी निर्वाचन निर्देशिकाअनुसार औपचारिक प्रक्रियामा समावेश गरी सम्बन्धित पक्षलाई जानकारी दिइएको छ । उजुरी परेका उम्मेदवारले तोकिएको समयभित्र प्रमाणसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन तालिकाअनुसार मनोनयनपत्र र उजुरीमाथि आजदेखि माघ ८ गतेसम्म जाँचबुझ हुनेछ । माघ ८ गते उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ भने ९ माघमा नाम फिर्ता र अन्तिम सूची प्रकाशन हुनेछ । हाल दर्ता भएका उम्मेदवारमध्ये पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् ।

प्रतिक्रिया