तिनाउ नदीमा सिग्नेचर ब्रिजकाे ठेक्का आव्हान

खबर नागरिक

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिङ्गे–चन्द्रौटा सडक ४ लेनमा विस्तार हुँदै गर्दा तिनाउ नदीमा बन्ने सिग्नेचर पुलका लागि बोलपत्र आह्वान गरिएको छ। हाल रहेको ‘तिनाउ पुल’ जीर्ण बन्दै गएको र सवारीचाप अत्यधिक बढिरहेको कारण नयाँ पुल निर्माणका लागि शुक्रबारबाट टेन्डर प्रक्रिया सुरु भएको हो।यसअघि बुटवल–चन्द्रौटा खण्ड विस्तारपछि पुरानो पुलले सवारी भार थेग्न नसक्ने भएकाले करिब चार वर्षअघि नै सिग्नेचर ब्रिज निर्माण तयारी थालिएको थियो।

सिग्नेचर पुल निर्माण कार्यसँगै पुल परिसरको पर्यटकीय सम्भावना बढाउने उद्देश्य राखिएको छ। पुल नजिकै रहेका जितगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेटेर करिब ३०० मिटर क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ। पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अवधारणा अनुसार तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण प्रक्रिया अघि बढाइएको हो।

साढे २ अर्ब लगानी लाग्ने अनुमान गरिएको यो योजना नेपालमै नमुना मध्येको हो । यसअघि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै पहिलो पटक चितवनको नारायणी नदी र तिनाउ नदीमा यस प्रकारको पुल निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट व्यवस्थापन गरेका थिए । रुपन्देहीबाटै धेरै पटक निर्वाचन जितेका उनले आफ्नो निर्वाचनको प्रतिबद्धतामा यसलाई राखेर प्रचार गरेका थिए ।

बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर ब्रिज निर्माणका लागि तयारी सुरु गरिएको छ । चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक्ट र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । नेपाली र विदेशी इन्जिनियरहरूको टोलीले पुलको आर्किटेक्ट डिजाइनको सम्बन्धमा छलफल गरेको छ।

पुलको आधुनिक प्रकार हो, सिग्नेचर ब्रिज । यो अन्य पुलको तुलनामा निकै आकर्षक हुन्छ । अधिकांश शहर नजिकैका नदीहरूमा इन्जिनियरहरूले सिग्नेचर ब्रिज डिजाइन गर्छन् । इरासमस ब्रिज, रोटर्डाम ब्रिज, लण्डनको मिलेनियम ब्रिज, अल्मिलिया ब्रिज आदि सिग्नेचर ब्रिजका नमूना हुन् । ‘यो पुल जहाँ पायो त्यहीँ बन्दैन । निश्चित ठाउँमा मात्र बनाइन्छ’ पूर्वाधार क्षेत्रका जानकारहरू भन्छन् ।

यसअघि नेपालमा पहिलो पटक ०७९ कार्तिकमा चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएर काम अघि बढेको थियो । ५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रूपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ ।

बुटवलको सिगनेचर पुल निर्माणका लागि पुल आसपासमा रहेका जग्गाहरूको व्यवस्थापनमा समस्या आएर ढिलाइ भएको थियो । यो विषयमा बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक्ट डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका थिए ।

पुल निर्माणको प्रक्रिया अघि बढाउन बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणमा उपमहानगर सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताको विषय रहेको बताइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिएका थिए । पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निर्णय गर्ने जानकारी गराएको तर अन्तिम समझदारी नभएको उनको भनाइ छ।

‘जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन गर्न पुलले सहयोग गर्नेछ,’ उनले भने, ‘पुल र यहाँका ऐतिहासिक, पुरातात्त्विक स्थल एकर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयवासीको व्यापार व्यवसायमा लाभ हुनेछ।’

सिग्नेचर ब्रिज निर्माणका लागि यसअघि पनि बुटवलमा छलफल भएको थियो । यो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पुल निर्माण कोसेढुंगा साबित हुने उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। ‘यसले बुटवलको विकासमा ठूलो महत्त्व राख्ने भएकाले योजना सम्पन्न गर्न उपमहानगरको साथ र सहयोग रहन्छ,’ उनले भनिन्।

सिग्नेचर ब्रिजका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक्ट डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ । विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर ब्रिज डिजाइनका लागि यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए ।

आयोजना निर्देशक सुरेश पौडेलले यो योजनालाई डिजाइन र निर्माण गर्ने गरी ठेक्का आह्वान भएको जनाएका छन् । ‘करिब साढे २ अर्बको लागत अनुमान गरिएको छ, यो योजनामा डिजाइन एन्ड बिल एकै ठाउँमा गर्न खोजिएको छ । यसमा हामीले पनि स्टिमेट गरेका छौँ, हामीले आह्वान गरेको २ महिनाभित्रमा आएका कम्पनीको प्राविधिक र आर्थिक डकुमेन्ट हेरेर आर्थिक प्रतिस्पर्धाका आधारमा छनोट गर्ने हो’ उनले भने–‘अब करिब १० महिनामा यो कार्यान्वयन चरणमा जान्छ र २ वर्षमा निर्माण सक्ने लक्ष्य छ ।’

अहिलेसम्म सडक विभागको पुल आयोजनामार्फत काम भइरहे पनि ठेक्का प्रक्रियामा गइसकेपछि भने यसको कार्यालय नै बुटवल क्षेत्रमा राखेर अघि बढ्ने निर्देशक पौडेलले जनाए ।

पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेलले आफूले धेरै पहिलेबाट बोकेको सपना पूरा हुने चरणमा पुग्दा निकै खुसी लागेको जनाएका छन् । ‘धेरै पहिलाबाट सुरु गर्न खोजेको योजना हो, यो बुटवल रुपन्देहीका लागि मात्रै होइन, लुम्बिनी र पश्चिम क्षेत्रका लागि सबैको लागि खुसीको कुरा हो ।’ उनले भने–‘समयमै यो योजनालाई गुणस्तरीय रूपमा बनाउन साथ सहयोग गरौं, आफूले बोकेको सपना पूरा हुने चरणमा पुगेको खुसी निकै ठूलो हुने रहेछ । अब यसलाई कार्यान्वयनमा सबैले साथ दिनुपर्दछ ।’

प्रतिक्रिया