भैरहवा । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले डिजेको प्रयोग गरी प्रचारप्रसार गरेपछि डिजे प्रयोग नगर्न अपील गरेको छ ।
निर्वाचन आचारसंहिता विपरीत जिल्लाका केही राजनीतिक दल तथा उम्मेदवारबाट सवारी साधनमा डिजे, माईक, लाउड स्पिकर मार्फत चर्को स्वरमा प्रचार–प्रसार गरिरहेको भन्ने व्यापक जनगुनासो आएकोले सम्बन्धित दल तथा उम्मेदवारले आचारसंहिता विपरित हुने डिजे, माईक, लाउड स्पिकर प्रयोग नगर्न/नगराउन साथै निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्नु÷गराउनुहुन प्रशासनले यस्तो सूचना जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मातृका आचार्यले सूचना जारी गर्दै प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहीत रूपमा सम्पन्न गराउनु साझा दायित्व भएको बताए ।
फागुन २१ गते विहिबारका दिन हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, स्वच्छ, पारदर्शी, मितव्ययी, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न र निर्वाचन आचारसंहिता विपरितका कार्यहरु गरे /गराएको पाईएमा कानून बमोजिम कारवाही हुने व्यहोरा जनाउदै आचारसंहिता विपरीतको काम नगर्न अपील गरे ।
यस्तै निर्वाचन आयोगले पालिकाका जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको छ । चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो । केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनसक्ने भए पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
आचारसंहिता प्रतिकूल हुने गरी पदाधिकारीले आफू बहाल रहेको पालिकामा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनाव प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।