भैरहवा । भैरहवास्थित सिबी पब्लिक हाई स्कुलमा बिहीबार सांस्कृतिक भोजन तथा पोशाक कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीहरूलाई आफ्नो मौलिक संस्कृति, खानपान र पहिरनबारे व्यवहारिक रूपमा सिकाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले विभिन्न समुदायका परम्परागत परिकारहरू घरमै तयार गरी विद्यालय परिसरमा प्रदर्शनी तथा बिक्रीका लागि राखेका थिए । प्रत्येक स्टलमा घरमै पकाइएका स्वस्थ र मौलिक खानेकुराहरू सजाइएका थिए । बजारमा सहजै पाइने फास्ट फुडभन्दा फरक स्वाद र परम्परागत पहिचान बोकेका परिकारहरू नै कार्यक्रमको मुख्य आकर्षण बने ।
कक्षा १० का विद्यार्थी बन्दना गौतम र कृशाङ्ग थापामगरले आफ्नै हातले बनाएको परिकार बिक्री गर्दा नयाँ अनुभव प्राप्त भएको बताए । उनीहरूका अनुसार यसले सामान्य व्यापारिक सीप सिकाउनुका साथै आफ्नै संस्कृतिप्रति गर्व गर्ने अवसर दिएको छ ।
कार्यक्रममा सहभागी अभिभावक गौतम यादवले विद्यालयले पढाइसँगै व्यवहारिक र सांस्कृतिक शिक्षा जोड्नु सकारात्मक प्रयास भएको प्रतिक्रिया दिए । उनका अनुसार यस्ता गतिविधिले बालबालिकामा संस्कृतिप्रति सम्मान र आपसी समझदारी बढाउँछ ।
त्यस अवसरमा विद्यार्थी तथा शिक्षकहरू विभिन्न जातजाति र समुदायका पारम्परिक पोशाकमा सजिएका थिए । विविध भेषभूषाले विद्यालय परिसरलाई सांस्कृतिक रंगमञ्चमा रूपान्तरण गरेको थियो ।
विद्यालयका प्राचार्य उदय कुमार मल्लिकले विगत तीन–चार वर्षदेखि पोशाक दिवस मनाउँदै आएको र यस वर्षदेखि भोजन कार्यक्रमसमेत समावेश गरिएको जानकारी दिए । “जसरी हाम्रो नाम र ठाउँ हाम्रो पहिचान हो, त्यसरी नै हाम्रो खाना र पोशाक पनि हाम्रो महत्वपूर्ण पहिचान हो,” उनले उल्लेख गरे । आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्ने योजना विद्यालयको रहेको उनले बताए ।
विद्यालय प्रशासनका अनुसार उक्त कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना विस्तार गर्नुका साथै विविध समुदायबीच सम्मान, सहिष्णुता र एकताको भावना सुदृढ बनाउन सहयोग पुगेको छ ।