आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि रुपन्देहीको विभिन्न क्षेत्रबाट नेपाली कांग्रेसले नाम सिफारिस गरेको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्द बहादुर खत्रीको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । उनकाअनुसार राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सोमनाथ शर्मा, मिननाथ शर्मा, भिम प्रसाद न्यौपाने र मोहन सरदारलाई सिफारिस गरिएको छ ।
सबै उम्मेदवार सर्वसम्मत चयन भएको हो । यस्तै क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ क्षेत्रीय समितिबाट पूर्व अर्थराज्यमन्त्री तथा तीन पटकका प्रतिनिधिसभा सांसद भरतकुमार शाहको नाम एकल सिफारिस भएको हो । शाह यसअघि सार्वजनिक लेखा समितिको सभापति हुनुहुन्थ्यो । नेपाली कांग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको मात्र नाम प्रस्ताव आएको र कुनै विरोध नउठेकाले एकल सिफारिस गरिएको छ ।
यसैगरी समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान, मामकला थापा, तथा राष्ट्रियसभाका लागि सूर्यमति उपाध्याय र शेषमन यादवको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्व सांसद फकरुद्दीन खानले बैठकमा प्रतिनिधि सभा सदस्यका लागि भरतकुमार शाहको नाम मात्रै प्रस्तावका रुपमा आएकोले सर्वसम्मत सिफारिस गरिएको हो।
यस्तै रुपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकसहित ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
रज्जाक हाल लुम्बिनी प्रदेश सभा सदस्य हुन । क्षेत्रीय कार्यसमितिले रज्जाकसहित हिरा बहादुर खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रत्यक्षतर्फ उम्मेदवारका लागि ६ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ गंगा शाही, मणि प्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम उम्मेदवारमा सिफारिस गरिएको छ ।