रुपन्देहीका ३५ प्रतिशत मतदाताले भोट हालेनन्, मतगणनाको तयारी

माेहम्मद हबिब

भैरहवा, २१ फागुन । रुपन्देहीमा ६५ दशमलव ०३ प्रतिशत मत खसेको छ । बिहीबार विहान ७ बजेबाट सुरु भएको मतदान साझ ५ बजे सम्म जिल्लाका ५ वटै निर्वाचन क्षेत्रबाट  ४ लाख ३७ हजार ३ सय ४८ जनाले मताधिकारको प्रयोग गरेका हुन । रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मध्ये २ लाख ३५ हजार १ सय ७५ जनाले मताधिकार प्रयोग गरेनन । 

रुपन्देहीमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको हो । निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा ५ पदका लागि १५५ जनाले उम्मेदवारी दिएका थिए जसमध्ये ९२ जना राजनीतिक दल बाट र ६३ जना स्वतन्त्र रुपबाट चुनावी प्रतिष्पर्धामा सहभागी थिए । 

निर्वाचन क्षेत्र नम्बर १ बाट १ लाख ४६ हजार ८ सय २४ जना, क्षेत्र नम्बर २ बाट १ लाख ३५ हजार ५० जना, क्षेत्र नम्बर ३ बाट १ लाख ४० हजार ३५ जना, क्षेत्र नम्बर ४ बाट १ लाख १६ हजार १ सय ७२ जना र क्षेत्र नम्बर ५बाट १ लाख ३४ हजार ४ सय ४२ जना मतदाता रहेका थिए । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । रुपन्देहीको क्षेत्र नम्बर १ बाट ६७.३२, क्षेत्र नम्बर २ बाट ६४.०७, क्षेत्र नम्बर ३ बाट ६७.८४, क्षेत्र नम्बर ४ बाट ६६.६१ र क्षेत्र नम्बर ५ बाट ६०दशमलव २७ प्रतिशत मत खसेको छ । 

साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइएको थियो । 

आज राती नै सर्वदलिय बैठकले मतगणना गर्ने भन्ने टुंगो लगाएपछि मतगण्ना सुरु हुने छ । रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा यस पटक छुट्टाछुट्टै मतगणना गरिदैछ । जसका लागि गणनास्थलमा तारजाली र सिसी क्यामरा जडान गरिएको छ, बत्ती नजाने गरि उज्यालोको व्यवस्थापन सम्बन्धि निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । मतगणनाका लागि तालिम प्रदान गरि सुरक्षित र व्यवस्थित तरिकाले मतगणना गरिने गरि प्रबन्ध मिलाइएको छ भने उम्मेदवारका प्रतिनिधि तथा अन्यलाई तारजाली बाहिरबाट मतगणना अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिएका छन ।

निर्वाचन क्षेत्र नम्बर १ मा देवदह आदर्श बहुमुखी क्याम्पस, सित्तलनगर, क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित वडा कार्यालय, क्षेत्र नम्बर ३ मा भैरहवास्थित भैरहवा नमूना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नम्बर ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छिटै नतिजा ल्याउनेमा प्रयासरत रहने मुख्य निर्वाचन अधिकृत बस्नेतले बताए ।

जिल्ला भर २ सय १३ मतदान स्थलका ७ सय ३६ मतदान केन्द्रमा मतदान भएको हो । विगतका चुनावकोहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार बढी संयमित, सहयोगी र शान्त पाइएको निर्वाचन आयोगको पर्यवेक्षणले देखाएको छ ।



प्रतिक्रिया