एमाले महासचिव पोखरेल : जितले जन्माएको पहिचान, हारले खारिएको संसदीय यात्रा

खबर नागरिक

माघ ३ ।  नेपाली राजनीतिमा धेरै नेताहरू पहिलो हारपछि हराउँछन् । केही पहिलो जितमै आत्ममुग्ध बन्छन् । तर, शंकर पोखरेल ती नेतामध्ये पर्छन्, जसको राजनीतिक यात्रा न त हारले रोकेको छ, न त जितले मात्रै बनाएको छ । उनको संसदीय राजनीतिक जीवन जितबाट सुरु भयो, हारले कठोर बनायो, अवसरले पुनः उठायो र निरन्तरताले आज एमालेको महासचिवसम्म पुर्‍यायो । 

यही उतार चढावले पोखरेललाई ‘हार-जितले खारिएको नेता’को परिचय दिएको छ ।

२०५१ साल । बहुदलीय व्यवस्थापछि नेपाली कांग्रेस राज्यसत्ताको केन्द्रमा थियो । गिरिजाप्रसाद कोइरालाको प्रभाव, संगठन र संसाधन कांग्रेसको पक्षमा थियो । कांग्रेसको जगजगीबीच दाङ क्षेत्र नम्बर ३ बाट एमालेका युवा नेता शंकर पोखरेलले कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरे । यो जित सामान्य चुनावी परिणाम मात्र थिएन । कांग्रेसको बलियो किल्ला भत्किएको थियो । ग्रामीण मतदाता, वाम चेतना र संगठनात्मक क्षमताले कांग्रेसको वर्चस्वलाई चुनौती दिएको संकेत थियो । यही चुनावले शंकर पोखरेललाई राष्ट्रिय राजनीतिमा प्रवेश गरायो ।

तर, राजनीतिमा जित स्थायी हुँदैन । २०५६ सालको आमनिर्वाचनमा त्यो यथार्थ कठोर रूपमा देखियो । पोखरेल कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भए । सत्ता, स्रोत र राज्य संयन्त्र कांग्रेसको पक्षमा थियो । एमाले कमजोर अवस्थामा थियो । यो हारले पोखरेललाई संसद बाहिर राख्यो । धेरैका लागि यो हार राजनीतिक जीवनको अन्त्य बन्न सक्थ्यो । तर, पोखरेलका लागि यो पुनर्विचार र पुनर्निर्माणको चरण बन्यो ।

हारपछि उनी किनारिएनन् । बरु पार्टी संगठन, वैचारिक बहस र प्रशिक्षणमा उनी झन् सक्रिय बने । संसद बाहिर बसेर पनि पार्टीभित्र उनको प्रभाव घटेन । यही कालखण्डमा उनी ‘चुनाव जित्ने मात्र होइन, पार्टी धान्ने नेता’का रूपमा चिनिन थाले । हारले उनलाई कमजोर बनाउनुको साटो राजनीतिक रूपमा परिपक्व बनाउँदै लग्यो ।

२०६४ सालमा मुलुक संविधानसभा निर्वाचनमा गयो । शान्ति प्रक्रिया, गणतन्त्र र नयाँ राजनीतिक संरचनाको बहस उत्कर्षमा थियो । यही चुनावबाट शंकर पोखरेल समानुपातिक सांसद बने । संसद प्रवेशको ढोका खुल्यो । यो अवसर उनले सदुपयोग गरे । सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले राज्य सञ्चालनको अनुभव बटुले । सञ्चार क्षेत्रको संरचना, सरकारी सूचनाको प्रवाह र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी बहसमा उनी सक्रिय देखिए । मन्त्रीका रूपमा उनी ‘कम बोल्ने, काममा केन्द्रित’ नेता भनेर चिनिए ।

तर, संसदीय राजनीतिमा पुनः स्थायित्व आउँछ भन्ने ठान्नेबित्तिकै अर्को धक्का लाग्यो । २०७० सालको निर्वाचनमा दाङबाट कांग्रेसका बुद्धिराम भण्डारीसँग पोखरेल पराजित भए । यो हार प्रतीकात्मक थियो । संविधानसभा र संक्रमणकालीन राजनीतिपछि कांग्रेस पुनः बलियो बन्दै गएको संकेत थियो । पोखरेल फेरि संसद बाट बाहिरिए । तर, यो हारले पनि उनको राजनीतिक यात्रामा पूर्णविराम लगाएन ।

संसद बाहिर रहँदा पनि उनी एमालेभित्र केन्द्रीय भूमिकामा देखिए । पार्टीको वैचारिक लाइन, रणनीति र नेतृत्व बहसमा उनी निर्णायक पात्र बन्दै गए । यही निरन्तरताको परिणाम हो-२०७४ साल । संघीय संरचनाअनुसार भएको पहिलो निर्वाचनमा उनी प्रदेश सांसदमा विजयी भए । उनले प्रदेश सांसद  जितेनन् मात्र, लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री बने । यो उनको राजनीतिक जीवनको निर्णायक मोड थियो ।

मुख्यमन्त्रीका रूपमा पोखरेलले आफूलाई केवल एमालेको प्रतिनिधि होइन, संघीयताको अभ्यासकर्ता बनेर प्रस्तुत गरे । प्रदेश सरकारको संरचना निर्माण, नीति तय गर्ने काम र विकासको दिशामा उनले आफ्नो छाप छोड्ने प्रयास गरे । आलोचना पनि भयो, असन्तोष पनि आयो । तर, इतिहासमा उनी लुम्बिनीका पहिलो मुख्यमन्त्रीका रूपमा दर्ज भए । हारले खारिएका उनी  त्यतिबेला सत्ता सञ्चालनको केन्द्रमा पुगे ।

तर, राजनीतिमा फेरि पनि स्थायित्व रहेन । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धन बनेको थियो । यही गठबन्धनका तर्फबाट माओवादी नेतृ रेखा शर्मासँग पोखरेल पुनः पराजित भए । यो हार व्यक्तिगतभन्दा बढी राजनीतिक समीकरणको परिणाम थियो । गठबन्धनको अंकगणित, स्थानीय समीकरण र मत विभाजनले उनलाई फेरि संसद बाहिर पुर्‍यायो ।

यसरी हेर्दा शंकर पोखरेलको संसदीय राजनीतिक जीवन सीधा र सजिलो छैन । २०५१ मा कांग्रेसको वर्चस्व तोड्दै सुरु भएको विययी यात्रा २०५६, २०७० र २०७९ मा पराजयमा थन्कियो । तर,यसपटक फेरि दाङ-२ बाट जित निकालेर उनी संसदमा पुनरागमन गर्ने तयारीमा छन् । बीचमा समानुपातिक सांसद, मन्त्री, प्रदेश सांसद र मुख्यमन्त्री बनेका छन् । जित र हार दुवैलाई उनले आफ्नो राजनीतिक जीवनको स्वाभाविक हिस्सा मानेका छन् ।

अहिले उनी नेकपा एमालेका महासचिव छन् । यो पद केवल संगठन चलाउने होइन, पार्टीको राजनीतिक दिशा तय गर्ने केन्द्र हो । यहाँ आइपुग्दा पोखरेलसँग जितको उत्साह मात्र छैन, हारको गहिरो अनुभव पनि छ । त्यसैले उनको नेतृत्व शैली भावनात्मकभन्दा बढी गणनात्मक देखिन्छ । उनी हतार गर्दैनन्, प्रतिक्रिया भन्दा रणनीतिमा विश्वास गर्छन् ।

शंकर पोखरेलको राजनीतिक यात्राले नेपाली राजनीतिलाई एउटा पाठ दिन्छ कि,राजनीति एक पटकको जितको खेल होइन, दीर्घकालीन धैर्यको अभ्यास हो । उनी भन्छन्,‘हारले नेता समाप्त हुँदैन, यदि उसले हारबाट सिक्न जान्यो भने ।’  यही अर्थमा शंकर पोखरेलको संसदीय राजनीतिक यात्रा केवल व्यक्तिगत उतारचढावको कथा होइन, लोकतान्त्रिक राजनीतिमा निरन्तरता, आत्मसमीक्षा र दृढताको प्रेरणादायी उदाहरण हो ।

प्रतिक्रिया