भैरहवा । दोस्रो एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेसँगै प्रदेशका विभिन्न जिल्लामा ट्रफी टूर चलिरहेको छ ।
सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको ट्रफी मंगलबार रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा ल्याएर विजय उत्सव मनाइएको छ । पुसको ५ गतेबाट सुरु भएको ट्रफी टुर लुम्बिनीका १२ वटै जिल्लामा लैजाने कार्यक्रम छ । केही जिल्लामा उत्सव मनाएको र केहीमा मनाउने गरी कार्यतालिका बनाइएको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले जानकारी दिए ।
च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला तथा ती जिल्लाका महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरुको भ्रमण गराइएको छ । मंगलबार भैरहवा ल्याइएको ट्रफी बुद्ध जन्मस्थल लुम्बिनी, नेपाल भारत सिमानाका बेलहिया, बुटवल लागयतको ठाँउमा पनि ट्रफी टुर सेलिब्रेसन गरिएको हो ।
रंगशालामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले ट्रफीसहित सहभागी विजेता टीम लुम्बिनी लायन्सलाई स्वागत गरी बधाई ज्ञापन गरे । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपीएल ट्रफी प्राप्त गर्न सफल भएकोमा शुभकामना दिदै जितले यस क्षेत्रको क्रिकेटमा थप ईटा थपेको बताए । उनीहरुले लुम्बिनीले यसपटक ट्रफी जितेकामा प्रदेशबासी हर्षित भएको भन्दै यसलाई निरन्तरता दिनु शुभकामना समेत व्यक्त गरे ।
लुम्बिनी लायन्सका अध्यक्ष जिसीले खेलाडीहरुको अपार मिहिनत, आत्मविश्वास तथा समर्पणसँगै समर्थकहरुको निरन्तर साथ, विश्वास र मायाकै कारण सफलता सम्भव भएको जनाए ।
ट्रफी सेलिब्रेसन कार्यक्रममा जनप्रतिनिधि, उद्योगी व्यवसायी, क्रिकेटप्रेमी, सर्वसाधरण लगायतको उपस्थिति थियो । लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलिब्रेसन टुरमा रहेको लुम्बिनीले सेलिब्रेसन टुरको अन्तिम दिन १६ पुसमा कन्सर्ट गर्ने छ । कन्सर्ट बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टर (बिआइसिसी) मा साँझ ५ देखि १२ बजेसम्म कन्सर्ट हुँदैछ ।
रुपन्देहीमा ट्रफी टूर गराएसँगै लुम्बिनी लायन्सले बुधबार बुटवलमा च्याम्पियन्स ट्रफी सेलिब्रेसन कन्सर्ट आयोजना समेत गरेको छ । बुटवलस्थित बुटवल इन्टरनेसनल कन्भेन्सन सेन्टर (बिआइसिसी) मा साँझ ५ देखि १२ बजेसम्म कन्सर्ट हुँदैछ ।
कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी ईलेमेन्ट्स ब्याण्ड, बद्री पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल र तेरिया पुन मगरले आफ्नो प्रस्तुती दिनेछन् ।