३०४ औँ पृथ्वी जयन्तीको अवसरमा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता हुने

खबर नागरिक

भैरहवा । ३०४ औँ जन्म जयन्ती तथा पृथ्वी जयन्तीको अवसरमा स्वतन्त्र नागरिक समाजद्वारा नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ। उक्त प्रतियोगिता सिद्धार्थनगर नगरभित्रका विद्यालयहरूमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि लक्षित गरिएको स्वतन्त्र नागरिक समाजका अध्यक्ष हिरा बहादुर शाहले जानकारी दिनुभयो।

प्रतियोगिताको शीर्षक “राष्ट्र निर्माताको दूरदर्शिता र आजको नेपाल” राखिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीलाई प्रथम पुरस्कारस्वरूप नगद १० हजार रुपैयाँ तथा प्रमाणपत्र, द्वितीय पुरस्कार ७ हजार रुपैयाँ तथा प्रमाणपत्र र तृतीय पुरस्कार ५ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यसैगरी दुई जना प्रतियोगीलाई सान्त्वना पुरस्कारस्वरूप जनही २ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने ३०४ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका कार्यक्रम संयोजक बिना भण्डारीले जानकारी दिनुभयो।

उक्त वक्तृत्वकला प्रतियोगिता २०८२ साल पौष २५ गते शुक्रबार दिउँसो भैरहवा नमुना माध्यमिक विद्यालय, सिद्धार्थनगर नगरपालिका–५, रुपन्देहीमा आयोजना हुने छ।

आयोजक स्वतन्त्र नागरिक समाजका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया